काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बास्नादार विदेशी चामलभन्दा स्वदेशी चामलको भात खाने बानीको विकास गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको वर्तमान अवस्था र भावी सोच बिषयक गोष्ठीमा उनले भने, ‘बास्नादार र विदेशबाट आयात गरिएको चामलभन्दा स्वदेश मै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नुपर्दछ।’


ADVERTISEMENT

# # #


उनले प्रविधि र यान्त्रिकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले देशको दुई तिहाइ जनसंख्या कृषिमा भए पनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताएका छन्।

हाम्रो देशको लागि यति ठूलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन। कृषिमा प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर जनसंख्याको ठूलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्दछ’, प्रधानमन्त्री ओलीले भने ‘जबरजस्तरूपमा कृषिमा काम गरेका मानिसलाई विस्थापन गर्ने भनेको होइन तर विकल्प दिएर अन्य काममा यो जनशक्ति उपयोग गर्नुपर्दछ।’

प्रधानमन्त्री ओलीले कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनाललाई ठोस र प्रभावकारी काम गर्न निर्देशनसमेत दिए । मन्त्रालयको तर्फबाट ‘वर्तमान अवस्था र भावी सोच’ बिषयक प्रस्तुति सुनिसकेपछि प्रधानमन्त्री ओलीले मन्त्री खनाललाई ठोस र प्रभावकारी योजना बनाएर काम गर्न निर्देशन दिएका हुन् ।