काठमाडौँ – सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्य अनुसार नै आर्थिक वृद्धि हुने जनाएको छ। अर्धवार्षिक बजेट समीक्षाबारे अर्थ मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।


ADVERTISEMENT


चालु आवको अर्धवार्षिक समीक्षासम्ममा कृषि उत्पादनमा भएको वृद्धि, उद्योगको क्षमता उपयोगको विस्तार, पर्यटकको आगमनमा वृद्धि, ऊर्जा आपूर्तिमा सुधार, विप्रेषण आप्रवाह, राजस्व असूली र पूँजीगत खर्च बढेकाले लक्ष्य अनुसार नै आर्थिक वृद्धि हुने अर्थ मन्त्रालयले जनाएको हो ।


ADVERTISEMENT

# # #


मन्त्रालयले अर्थतन्त्रका सूचकहरू सन्तोषजनक देखिएको जनाउँदै आर्थिक वृद्धिदर लक्ष्यकै हाराहारीमा हुन सक्ने अनुमान गरेको हो । सरकारले यो आर्थिक वर्षको बजेटमार्फत् ८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

यस्तो छ खर्चको अवस्था

सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब ९९ अर्ब १५ करोड खर्च हुने अनुमान गरेको छ। जुन कुल विनियोजनको तुलनामा ९१.२ प्रतिशत हो। चालुतर्फ ७ खर्ब ९८ अर्ब ४४ करोड (९४.४ प्रतिशत), पूँजीगततर्फ २ खर्ब ६५ अर्ब २६ करोड (८४.५ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक खर्ब ३५ अर्ब ४४ करोड (८७ प्रतिशत) खर्च हुने अनुमान अर्थमन्त्रालयले गरेको हो ।

सरकारले आर्थिक वर्षको अन्त्यसम्ममा परिचालन हुने कूल राजस्व ९ खर्ब १७ अर्ब १९ करोडमध्ये संघीय सर्वसञ्चित कोषमा ८ खर्ब ६ अर्ब ५० करोड ६४ लाख जम्मा हुने अनुमान गरेको छ।

वैदेशिक अनुदान तर्फ ३९ अर्ब ९८ करोड (६८ प्रतिशत) र वैदेशिक ऋण तर्फ एक खर्ब ६३ अर्ब (६४.४ प्रतिशत) परिचालन हुने संशोधित अनुमान सरकारले गरेको छ।