कपिलवस्तु– विभिन्न हातहतियार सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तु शिवराज नगरपालिका–९ अंचलपुर बस्ने ४० वर्षीय दुर्गाबहादुर रोक्कालाई बिहीबार बिहान पक्राउ गरेको हो ।


ADVERTISEMENT


गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक समेत र सशस्त्र प्रहरी बल समेतको संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा रोक्काको घरमा लुकाई छिपाई राखेको अवस्थामा विभिन्न हातहतियार फेला पारेको हो ।


ADVERTISEMENT

# # #


उनको घरबाट एसएमजी २ थान, त्यसको गोली ६८ राउण्ड, त्यसको म्यागजीन ३ थान, पेस्तोल १ थान, त्यसको म्यागजीन १ थान, त्यसको गोली ३ राउण्ड फेला परेका छन् । यस्तै प्रहरीले ५.५६ क्यालिभरको १ सय ३१ राउण्ड, थप म्यागजीन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) बरामद गरेको छ ।

हतियार सहित फेला पारी रोक्कालाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेपछि प्रहरीले नियन्त्रणमा लिन फायर गर्दा बायाँ खुट्टामा गोली लागेर उनी घाइते भएका छन् । उनलाई उपचारको लागि बुटवलतर्फ लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।