नवलपरासी, २७ असार । जिल्लाका छवटा सामुदायिक विद्यालय नमूना विद्यालयका रूपमा छनोट भएका छन् ।


ADVERTISEMENT


जिल्ला शिक्षा कार्यालयबाट भएको प्रारम्भिक मूल्याँकन तथा शिक्षा विभागले गरेको अवलोकन र मूल्याँकनका आधारमा आवश्यक मापदण्ड पूरा गरेका जिल्लाका छवटा विद्यालय छनोट भएका हुन् ।


ADVERTISEMENT

# # #


नमूना विद्यालय घोषित हुनेहरुमा नेपाल मावि दिव्यपुरी देवचुली, शिव मावि कावासोती, नवजागरण मावि चोरमारा मध्यबिन्दु, महाकवि देवकोटा मावि सुनवल, राजा महात्मा पूर्णभद्र मावि पञ्चनगर बर्दघाट र त्रिभुवन मावि बेलाटारी प्रतापपुर रहेका छन् ।

हरेक नमूना विद्यालयले २०० विद्यार्थीलाई पुग्ने गरी आवासीय सुविधासहितको भवन निर्माणका लागि अनुदान प्राप्त गर्ने छन् । ती विद्यालयलाई शिक्षा मन्त्रालयले हालै नमूना विद्यालय घोषित गरेकोे हो ।

सुत्केरीलाई पोषणदेखि निःशुल्क स्वास्थ्य बीमा

सुनवल नगरपालिकाका सुत्केरी महिलालाई पोषण भत्तादेखि निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइने भएको छ । नगरपालिकाको सम्पन्न पहिलो बैठकले ‘सुत्केरी स्याहार पोषण’ बापत रु दुई हजार सहित निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख भीमबहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले रकम पाउनका लागि ३५ दिनभित्र अनिवार्य जन्मदर्ता गराउनुपर्ने प्रावधान राखिएको छ । बैठकबाट निर्णय भएको उक्त सुविधा नगर परिषद्ले पास गरेपछि तत्काल लागू हुनेछ ।

त्यसैगरी नगर क्षेत्रमा रहेका सुत्केरी, ज्येष्ठ नागरिक र असहायको निःशुल्क स्वास्थ्य बीमा गर्नका लागि प्रक्रिया अघि बढाउन उपप्रमुख दधीराम अर्यालको संयोजकत्वमा पाँच सदस्यीय ‘स्वास्थ्य बीमा अध्ययन समिति’ गठन गरिएको छ ।नगर क्षेत्रमा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै वितरण हुन रोकिएका जग्गाधनी पूर्जाको अध्ययन गरी वितरणको व्यवस्था मिलाउन उपप्रमुख अर्यालको संयोजकत्वमा जग्गा व्यवस्थापन अध्ययन समिति पनि गठन गरिएको छ ।

यसअघि जिल्लामा गठन भएको मनसोबा सुकुम्बासी समस्या समाधान आयोगले वितरण गरेका करिब छ हजार बढी जग्गाधनी पूर्जा अख्तियारमा मुद्दा परेपछि वितरण हुन सकेको छैन ।

बैठकले एक महिनाभित्र सबै वडामा कार्यालय स्थापना गर्ने, बालमैत्री नगर क्षेत्र विस्तार गर्ने र जग्गा प्लटिङ र नक्शा पास न्यूनतम मापदण्ड पूरा गरेर लागू गर्ने निर्णय गरेको छ ।