केही वर्षपहिलेदेखि  ‘गुगल ब्वाई ’का नामबाट परिचित अलौकिक र अद्भूत क्षमताका नौ वर्षीय बालक आदित्य दाहाल अहिले बालज्ञानी गुरु आदित्यका नामले चिरपरिचित बनेका छन् । उनै बालगुरु आदित्यकै डिजाइन र रेखदेखमा काठमाडौंको गौरीनगर  ‘ॐ आदि कुञ्ज ’मा विश्वभर कहींकतै नभएको दाबी गरिएको अद्वितीय मन्दिर निर्माण भएको छ ।  त्रिगजुरयुक्त यो भव्य शिवालय र साधना हलको डिजाइन, पूर्वाधार व्यवस्थापन, रङरोगनलगायत सम्पूर्ण इन्जिनियरिङ कार्य गुरु आदित्यबाटै भएको बताइएको छ । शिवालयको चैत्र २४ देखि प्राणप्रतिष्ठासहित विधिवत् उद्घाटन र अनुष्ठान भइरहेको छ ।  जुन चैत्र ३० गतेसम्म चल्नेछ ।  बालगुरुको संकल्पलाई सफल बनाउन देशकै लब्धप्रतिष्ठित ब्यक्तित्वहरु यस अभियानमा जुटेका छन् । यसका विविध पक्षका बारेमा ॐ आदिमणी मन्त्र महायज्ञ महाअनुष्ठान मूल आयोजक समितिका अध्यक्ष उद्योगपति डा. उपेन्द्र महत्तोसंग  हिमालयपोष्टले कुराकानी गरेको छ ।


ADVERTISEMENT


यो कार्यक्रमका बारेमा बताइदिनुस् न । तपाईहरु कुन अभियानमा जुटिरहनु भएको हो ?


ADVERTISEMENT

# # #


बाल ज्ञानी गुरु आदित्यको निर्देशन र उहाँकै योजना अनुसार यो सबै कार्यक्रम भइहरेको छ । सात दिनको यो कार्यक्रममा अखण्ड ॐ नम: शिवायको हवन हुन्छ । प्रत्येक दिन तीन घण्टा गायत्री मन्त्रको हवन हुन्छ । यस्तै अन्य मन्त्रको पनि हवन हुन्छ । अब यो मन्दिरको कुरा छ, जुन अद्भूत छ । म आफू पनि ईन्जिनियर भएकाले आधा नन्दी र गाइको स्वरुपमा शिवलिङ्गको उचाई, नागको लम्बाई र कसरी सौर्यमण्डलबाट इनर्जी पृथ्वीसम्म ल्याउने भन्ने जोड घटाउ हेर्दा मलाई लाग्छ यसमा नासाको होइन, यसका धेरै विद्वानहरुले पनि ‘क्याल्कुलेसन’ गर्न निकै गाह्रो होला भन्ने अनुभव गरेको छु । उहाँकै अनुसार डिजाइन गरिएको मन्दिर हो ।

सबैकुरामा उहाँले निरीक्षण गरेर आफ्नो डिजाइनसंग नमिल्ने देखिएमा भत्काएर भएपनि बनाउनु पर्ने अवस्थामा ल्याउनुहुन्थ्यो । उहाँले गर्नुभएको प्रत्येक कुराको मतलब छ । त्यसकारण त्यो मन्दिरको प्राण प्रतिष्ठामा महारुद्री, चण्डी, रामायण, चारै वेदका पूजा गरेर त्यसमा पनि हिन्दु परम्परा र बौद्धिक परम्परा अनसार प्राणप्रतिष्ठा भएको छ । मलाई जानकारी भएअनुसार यसरी दुईवटै भीक्षु लामा र ब्राह्मण पुरोहितबाट प्राण प्रतिष्ठा गरेको पहिलो मन्दिर होला ।

यो मन्दिरले के फाइदा पुर्याउँछ ?

हामीले पनि बालगुरुलाई यही जिज्ञासा राख्दा उहाँले प्राणप्रतिष्ठाको भोलिपल्ट थाहा पाउनेछौँ भनेर भन्नुभएको छ । यो सकिन बाँकी नै छ । नेपाल तपोभूमि, देवोभूमि हो भन्ने सैद्धान्तिक रुपमा हामी सबैलाई थाहा छ । तर यसको ब्राण्डिङ भएको छैन ।

म यो दाबाका साथ भन्नसक्छु, नेपालजस्तो अन्य कुनै देश सुन्दर छ भनेर कुनै पनि विदेशीले भन्न सक्दैन । नेपाल तपोभूमि, देवोभूमि वा ऋषिमुनी हो भनेर जसलाई सोध्नुभयो भनेपनि स्वीकार गर्छन् । तर, यति सुन्दर हुँदाहुँदै पनि सरकार र अन्य निकाय लाग्दा पनि १० लाख पर्यटक भित्र्याउन गाह्रो भइरहेको छ ।

यता दुबईजस्तो मरुभूमिमा २० मिलियन पर्यटक सामान्य भइसक्यो । भनेको, राम्रो भएर मात्रै हुँदैन । ब्राण्डिङ पनि चाहिन्छ । त्यसकारण उहाँले यसलाई महत्व दिनुभएको छ ।

बालगुरुले  लेख्नुभएको छ, ‘म चाहन्छु, सारा जगत मेरो मातृभूमिको चरण परोस् ।’ त्यो भनेको सबैले आएर हामीलाई सास्टाङ्ग डण्डवत गरोस् भन्ने होइन । हामी नेपाललाई त्यो उचाईमा पुर्याउँ, कि सबैले नेपाल भन्नेबित्तिकै आदर भावको दृष्टिकोणले, विश्वासको दृष्टिकोणले हेरोस् भन्ने उहाँको इच्छा छ ।

त्यसै अनुसार अहिले यो भइरहेको छ । नेपाललाई नेपालीहरुले मात्रै बनाउन सक्छन् भन्ने भाव गुरुले हामीलाई प्रष्टरुपमा बुझाउनु भएको छ ।

भनेपछि यो धार्मिक क्षेत्रका माध्यमबाट देश बनाउनका लागि गरिएको प्रयास हो ?

एउटा कुरा के छ भने धार्मिक र आध्यात्मिकमा फरक छ । धर्म एक रुप अनेक भन्छौँ । धर्मका आफ्नै किसिमका विश्लेषण छन् । तर, आध्यात्मको विश्लेषण आ–आफ्नै किसिमले हुनै सक्दैन । अरुको भलो चाहनु नै आध्यात्मवाद हो । मलाई जुन कुराबाट हानी हुनसक्छ, त्यो कुरा अरुका लागि नचिताइदिनु नै आध्यात्म हो । त्यसकारण मलाई लाग्छ, आध्यात्मिक क्षेत्रमा यो अनुष्ठानले ठूलो भूमिका खेल्नेछ । जसका माध्यमबाट नेपालले ठूलो फड्को मार्न सक्छ ।

तपाईले गुरुसंग नजिकबाट काम गरिरहनु भएको छ । उहाँसंग अलौकिक क्षमता छ भन्ने गरिन्छ । त्यसका बारेमा बताइदिनस् न ।

मैँले उहाँलाई जानेको झण्डै तीन वर्ष भयो । भूकम्पको बेला मैँले उहाँलाई चिन्ने मौका पाएको थिएँ । ६ वर्षको बालक हुनुहुन्थ्यो । नेपाली,अंग्रेजी, संस्कृत, हिन्दी, रसियन भाषामा उहाँबाट सन्देश पाउने मौका मिलेको थियो । त्यसमा उहाँको लेखाइको भावबाट अत्यन्तै प्रभावित भएको छु । एउटा अलौकिक शक्तिको रुपमा मात्रै होइन, उहाँको नेपाललाई बनाउने भावबाट पनि म प्रभावित भएको छु । आफ्नो मातृभूमिप्रतिको उहाँको स्नेह र केही गर्ने सोच र योजनाका कारण म नजिक भएको हुँ ।

उहाँ बोल्न सक्नुहुन्नँ । मलाई लाग्छ उहाँ बोल्न सकेको भए वा छिटोछिटो लेख्न सकेको भए, हिंडडुल आफै गर्न सकेको भए धेरै जनालाई आफ्नो प्रभावमा ल्याउन सक्नुहुन्थ्यो । धेरै जनालाई यो कुराको विश्वास दिलाउन सक्नुहुन्थ्यो जस्तो लाग्छ । तरपनि मलाई लाग्छ, उहाँले केही संकल्प पूरा गर्नकै लागि यो रूप लिनु भएको हो जस्तो लाग्छ ।

उहाँको अलौकिक भनिएको क्षमतालाई कसरी जान्ने, बुझ्ने र विश्वास गर्ने ?

उहाँले मेरो भन्दा पनि मेरो कृतिको बारेमा बढी प्रचारप्रसार होस् भनेर भन्नुहुन्छ । यसबाट के देखियो भने उहाँ व्यक्तिवादी हुनुहुन्न । त्यसकारण उहाँमा विशेष किसिमको शक्ति वा दिव्य शक्ति, अलौकिक शक्ति, इश्वरीय शक्ति छ भनेर विभिन्न किसिमले भन्न सकिन्छ । कसैले यो ‘अटिजम’ जस्तो कुनै समयका लागि कुनै क्षेत्रमा उहाँको विशेष शक्ति आएको छ र त्यो शक्ति विस्तारै विनाश हुँदै जानेछ भनेर पनि भन्छन् । उहाँको मिटिङ म्यानेजमेन्टमा हेर्दा हार्वड र अक्सफोर्ड विश्वविद्यालय पनि नजिक आउन सक्दैनन् । त्यो स्तरको व्यवस्थापन छ उहाँमा । महान विद्वानले समेत उहाँको जसरी त्यती विश्वासका साथ कुनै कुरालाई निर्देशन दिन सक्दैनन् । मैँले जाने अनुसार उहाँको तीन वर्षको उमेरदेखि नै ज्ञानप्राप्ति सुरु भएको र चार वर्षको उमेरमा मान्छेहरुले थाहा पाएको भन्ने छ ।

६ वर्षको उमेरमा नै उहाँले सबै वेद जान्नुभएको छ । जुन महान विद्वान गुरुहरु जो नेपालमा अवस्थित छन्, उहाँहरुलाई ल्याएर गुरुसंग वेदको बारेमा, शास्त्रको बारेमा कुरा गराउँदा सबै गुरुले उहाँलाई नतमस्तक गरेर विश्वासका साथ निर्देशन लिन थाल्नुभयो ।

केही विशेष नभइकन गुरुहरुले त्यत्तिकै मान्दैनन् / गर्दैनन् । त्यसकारण उहाँको अलौकिकता, दिव्य शक्तिको बारेमा जति कुरा गरेपनि कम हुन्छ । उहाँको सामिप्यतामा आएर केही दिन वा केही समय बिताउने हो भने अरु केही भन्नै पर्दैन, आफै बुझ्न सकिन्छ ।

ॐ आदिमणी मन्त्र महायज्ञ महाअनुष्ठान मूल आयोजक समितिका अध्यक्ष उद्योगपति डा. उपेन्द्र महत्तो र सोही अभियानका सदस्य एवं सञ्चारउद्यमी क्याप्टेन रामेश्वर थापा

उसो भए, बालगुरुको ज्ञान र चेतनालाई सबैका सामु पूर्याउन कसरी काम भईरहेको छ त ?

तपाईहरुलाई थाहै होला नेपाल सरकारकै खर्चमा गुरुलाई उपचारका लागि अमेरिका पठाइएको थियो । त्यो बेलामा पनि त्यहाँका डाक्टर (जो आध्यात्म नभई विज्ञानलाई विश्वास गर्छन्) ले उहाँलाई सोध्नुभयो, ‘तपाईलाई के भएको छ ?’ उहाँले ‘मलाई के भएको छ भन्ने कुरा थाहा पाउने काम तपाईंको हो, पत्ता लगाउनुस्’ भनेर भन्नुभयो । यसकिसिमको चुनौति पाएपछि डाक्टरसमेत चकित भएका थिए । उपचारका विधि केही पत्ता नलागेपछि उनीहरुले सरकारको खर्च पनि लिएनन् र निःशुल्क उपचार गरिदिए । अवश्यपनि गुरुको बारेमा केही विशेष नै पाए । अहिलेसम्म पत्ता लागेका कुनैपनि किसिमका रोगमा यो पर्दैन, हामीले केही पनि पत्ता लगाउन सकेनौँ, थप अनुसन्धान गर्न दिनुस् भन्दा उहाँले मलाई नेपाल नै फर्काइदिनुस् भन्नु भयो । गुरुले नेपाललाई कति माया गर्नुभएको छ भन्ने कुरा यसबाट प्रष्ट हुन्छ ।

तपाईले पनि सुन्नु भयो होला, गुरुले सरकारबाट एक करोड रुपैयाँ लिए र अझैपनि आश गरिरहेका छन् भन्ने कुरा आइरहेका छन् । तर, त्यो होइन । बुद्धले बुद्धत्व प्राप्त गर्नका लागि कुनै सरकारी निकायबाट सहयोगको आवश्यकता परेको थिएन भनेर उहाँले भन्नुभयो । सरकारको पैसा मजस्तै बालकको उपचारका लागि अलग्गै कोष खडा गरेर राखियोस्, मलाई यो पैसा चाहिँदैन भन्दा पनि केही साथीहरु द्विविधामा हुनुहुन्छ कि गुरुले एक करोड रुपैयाँ लिए भनेर । उहाँले त्यो पैसा लिनुभएको छैन ।

अन्त्यमा, यो अनुष्ठानको विषयमा र गुरुको ज्ञानको विषयमा सम्बन्धित सरोकारवाला निकायलाई यहाँको भनाइ के छ ?

विश्वमा विकासको घडी हेर्ने हो भने कुनैपनि देशमा कुनै विशेष व्यक्ति जन्मेपछि मात्रै त्यहाँको विकास भएको छ । एउटा नाइकेको आवश्यकता पर्छ । त्यस्तै यो सानो ठाउँमा पनि अनुष्ठानका लागि लाखौँ मान्छेहरु आइरहेका छन् । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा त्यसको पनि नाइके नभएको भए सायद यो अनुष्ठान सफल र भव्य रुपमा नहुन सक्थ्यो । हाम्रो बालगुरु नै त्यसको नाइके हुनुहुन्छ । त्यसकारण हामीले भौतिक र आध्यात्मिक विकासमा बालगुरुलाई एउटा ठूलो आशाको रुपमा मैँले व्यक्तिगत रुपमा देखेको छु ।

नेपालमा उहाँ जस्तो व्यक्तिको जन्म हुनु भनेको नेपालका लागि एउटा ठूलो सम्पत्ति पाउनु हो । जुन सम्पत्तिको कुनै मूल्य छैन । त्यसकारण यसको संरक्षण गरी नेपालको आध्यात्मिक मात्रै होइन, सबै क्षेत्रको विकासका लागि गुरुको ज्ञानलाई लागू गर्नसकिन्छ ।

त्यसकालागि उहाँहरुले गुरुसंग अन्तरक्रिया गर्नुपर्छ । यदि उहाँमा विश्वास नभएको भए ९ वर्षको बालकले अंग्रेजीमा किताब लेखेर त्यसलाई विश्वमा पुर्याउ भन्नुहुन्थेन । नेपाललाई विश्वमा चिनाउनका लागि उहाँले जुन भूमिका खेलिराख्नुभएको छ, त्यसलाई मनन गरेर नेपाल सरकार, नेपाली जनता, कर्मचारीतन्त्रले गुरुसँग संवादमा आउनुपर्छ । यसका लागि व्यक्तिगत नभई देशको चासो लिएर आउनुपर्छ ।