काठमाडौँ –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा खटिने प्रहरी कर्मचारीहरुलाई स्वदेशी तथा विदेशी नागरिकहरुसँग बोलचाल र सभ्य, शिष्ट र नम्र व्यवहारका लागि तालिम दिइएको छ । प्रहरीलाई यात्रु सेवाग्राही मैत्री बनाउने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले “प्रहरी आचरण, व्यवहार तथा अंग्रेजी भाषा” सम्बन्धि आन्तरिक अनुशिक्षण कार्यक्रम आयोजना गरेको हो ।


ADVERTISEMENT


शुक्रबार तालुक महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै दोस्रो चरणको कार्यक्रम अन्तर्गत विदेशी यात्रुको समस्यालाई समाधान गर्नका लागि कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी अधिकारलाई साधारण अंग्रेजी, आतिथ्यता, सामान्य कुराकानी र आचारसंहिता लगायतका विषयमा ज्ञान दिलाउनका गरिएको कार्यक्रमबाट ४५० जना प्रहरी अधिकारी लाभान्वित भएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ ।

कार्यक्रममा डीआइजी थापाले विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादन भएको उत्कृष्‍ट कार्यको प्रशंसा गरे । उनले आगामी दिनमा अझै प्रभावकारी सेवा प्रवाह गरी यात्रुहरुलाई शिष्ट सभ्य नम्र व्यवहार गरी अझै उत्कृष्ट व्यवसायिकता प्रदर्शन गर्न निर्देशन दिए ।

यस्तै नागरिक उडड्यन कार्यालय हवाई सुरक्षा विभागका प्रमुख प्रकाश चन्द्र ढकालले हाल विमानस्थल प्रहरीले भरपर्दो सुरक्षा व्यवस्था, पार्किंङ्ग व्यवस्थापन, यात्रुहरुको चेकजाँच लगायतमा ल्याएको सकारात्मक परिवर्तनका बारेमा प्रकाश पारे ।

साथै, कार्यक्रममा विमानस्थल प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दिप भण्डारीले प्रमुख अतिथि, विषेश अतिथि लगायत उपस्थित सम्पूर्ण सहभागी प्रहरी कर्मचारीहरुलाई धन्यवाद दिए ।

उनले विमानस्थल कार्यालयमा कार्यरत सम्पूर्ण निकाय, संस्थाका कर्मचारीहरुलाई विमानस्थल भित्र प्रवेश गर्दा आ–आफ्नो कार्यालयको अनिवार्य रुपमा तोकिएको पोशाक लगाई प्रवेश गर्न तथा काम गर्ने समयमा पास प्रयोग गर्न आग्रह गरे । एसएसपी भण्डारीले विमानस्थलका प्रहरी कर्मचारीहरुले व्यवसायिक, ईमान्दारिताका साथ रचनात्मक रुपमा कार्यसम्पादन गरिरहेको र आगामी दिनमा अझ प्रभावकारी रुपमा कार्यसम्पादन गर्ने दृढता व्यक्त गरे।