काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् ।


ADVERTISEMENT


बैठकमा प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री डा. खतिवडाले विनियोजन विधेयक २०७६/७७ का सिद्धान्त र प्राथमिकताको खाकाभित्र रहेर बजेट तर्जुमा हुने भन्दै छलफलमा उठेका विषयहरुलाई बजेट निर्माण गर्दा मार्गदर्शनका रुपमा लिने प्रतिबद्धता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


अर्थमन्त्री डा. खतिवडाले संवैधानिक व्यवस्था अनुसार नागरिकका मौलिक हक र अधिकार सम्बन्धी कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्दै जीवनयापनका न्यूनतम आधारभूत आवश्यकताहरु शीघ्र पूरा गर्ने विनियोजन विधेयकका प्राथमिकता रहेको जानकारी दिए ।

उनले आगामी आर्थिक वर्षको बजेटमा खाद्य सुरक्षा, रोजगारी, आधारभूत शिक्षा, जनस्वास्थ्य, आवास, समाजिक सुरक्षा लगायतका मौलिक हक कार्यान्वयन गर्न बनेका कानूनको कार्यान्वयन गरी सुरक्षित, सम्मानजनक र गुणस्तरीय जीवनयापनको अवसर सुनिश्चित गर्दै लगिने बताए ।
दिगो विकास लक्ष्य पुरा गर्ने, सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा स्तरोन्नती हुने लक्ष्यसहित आगामी वर्षको बजेट बन्ने उनले बताए ।

‘सबै नेपालीलाई सामाजिक सुरक्षामा दायरामा ल्याउने गरी बजेट निर्माण हुने छ,’ उनले भने, ‘सन २०३० अगावै दिगो विकासका लक्ष्यहरु पुरा गरी मध्यम आय भएको मुलुकको रुपमा स्तरोन्नती हुनेतर्फ आगामी वर्षको बजेट बन्ने छ।’

यस्तै अर्थमन्त्री डा. खतिवडाले बजेटमा आगामी दुई वर्षभित्र सबै बालबालिकालाई भर्ना गराउँदै ‘साक्षर नेपाल’ घोषणातर्फ बजेट लक्षित गरिने, जोखिमयुक्त वस्तीका सबै परिवारलाई सुरक्षित स्थानमा सुविधायुक्त आवासको व्यवस्था गर्ने र आगामी आर्थिक वर्षलाई युवा परिचालन वर्षका रुपमा लिईन लगायतका प्राथमिकता रहेको जानकारी दिए ।

आजको बैठकको सुरुमा सभामुख कृष्णबहादुर महराले यही बैशाख २४ गते सरकारको नीति तथा कार्यक्रम पारित गर्ने क्रममा बैठकमा प्रयोग भएका गैरसंसदीय शब्दप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्ता शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खगराज अधिकारीले सभामुख महराको रुलिङप्रति सम्मान गर्दै जिज्ञासा राख्ने क्रममा प्रयोग भएका अन्य गैरसंसदीय शब्दहरु पनि हटाउन सभामुखको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २९ गते विहान ११ वजे बस्ने छ ।