पथरी, मोरङ– दृष्टिविहीन व्यक्तिले चिना टिपन (ज्योतिष) हेरेर घर खर्च चलाएका छन् भन्दा सायदै पत्याउन सकिएला । तर, मोरङको बेलबारी–३ का ५१ वर्षीय महाप्रसाद दाहालको व्यवसाय नै ज्योतिष तथा हात हेर्ने हो ।


ADVERTISEMENT


सात वर्षदेखि बेलबारीमा डेरा बस्दै आएका महाप्रसादको कोठामा शनिबार र मङ्गलबार भविष्य हेर्न आउनेको भीड नै लाग्नेगर्छ । जन्मँदै दृष्टिविहीन जन्मिएका दाहाल भन्छन्– “मैले पढेको होइन । अन्तरध्यानबाट देख्छु र भन्छु । कसको कति मिलेको छ, मलाई थाहा छैन, तर मैले गरेको भविष्यवाणी नमिलेको भए यो शहरबाट मलाई खेदाइ सक्थे होला नि ”


ADVERTISEMENT

# # #


उनले थपे –“हेराउन आउँदाभन्दा पछि हजुरले जे भन्नुभएको थियो ठ्याक्कै त्यस्तै भयो भन्दै खुशीका साथ उपहार लिएर आउने धेरै रहेका छन् । ” जसले विश्वास गर्छ उनीहरू नयाँ ग्राहक लिएर दाहालकामा पुग्ने गरेका छन् । त्यसो त महाप्रसाद मात्र होइन उनकी अर्धाङ्गिनी मनकुमारी पनि दृष्टिविहीन नै छन् ।

महाप्रसादले पहिले सबलांग महिलासँग बिहे गरेका थिए, तर एउटा छोरो जन्मिएपछि श्रीमती अर्कैसँग गइन् । अहिले उनका जेठीपट्टिका छोरा वैदेशिक रोजगारमा साउदी अरबमा छन् । जेठी श्रीमतीले छोडेपछि महाप्रसाद सहारा खोजिररहेका थिए।

त्यही क्रममा २०६६ सालमा मोरङ नेत्रहीन संघद्वारा आयोजित तीन महिने तालीममा मनकुमारीसँग भेट भयो । तालीमकै क्रममा महाप्रसादले मनकुमारीसँग हात मागे। तर, त्यसबेला २६ वर्षकी मनकुमारीले उनको प्रस्ताव स्वीकार गरिनन् ।

तालीम सकिएपछि मनकुमारीले घरमै बुबा आमासँग माग्न आउन आग्रह गरिन् । महाप्रसाद पनि के कम, भोलिपल्ट नै झापाको धाइजन मोडमा रहेको मनकुमारीको घर पुगे । २०६६ फागुन १ गते वैवाहिक जीवन सुरु गरेका नेत्रहीन दाहाल दम्पती अहिले अरु सामान्य मानिस झैँ घर व्यवहार चलाएर बसिरहेका छन् ।

महाप्रसाद दैनिक कमाएर ल्याउँछन्, मनकुमारी खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, इष्टमित्र राख्ने सबै काम आफैँ भ्याउाछिन् ।

दाहाल भन्छन्– “ईश्वरले जस्तो गरिखानु भने त्यस्तै गरिरहेको छु ।” आफन्त इष्टमित्र भएपनि कसैले केही सहयोग नगरेको उनीहरूको भनाइ छ । उनीहरूका आफन्त नभएका होइनन् । तर कहिलेकाहीँ आउनेबाहेक केही भरोसा छैन ।

सरकारीस्तरबाट उनीहरूले प्रतिव्यक्ति मासिक ६/६ सय रुपैयाँ पाउँछन् । तर त्यो पैसाले घर भाडा तिर्न पनि पुग्दैन । उनी भन्छन् – “मासिक रु एक हजार ५०० घर भाडा तिर्नु पर्छ ।”

उनीहरूसँगै डेरा गरी बस्ने विमला चौधरी र अनिता साहका अनुसार दाहालसँग ज्योतिष हेराउन आउनेले खुशीका साथ दक्षिणा गर्छन् । दैनिक दुई/तीन जना आउने गरेको उनीहरु बताउँछन्।

विमलाले भनिन्– “हामी तीन वर्षदेखि यही घरमा सँगै बस्छौँ । दिनमा दुई÷तीन मान्छे नआएको दिन नै हुँदैन, शनिबार र मङ्गलबार त पालो कुर्नुपर्छ ।” गोपालप्रसाद पोखरेल/रासस