बेझाड – कुमाल समुदायको पुर्खौली पेशालाई जोगाउन रामपुर नगरपालिका–६ तिलकपुरका सोमबहादुर कुमालले माटो किनेर विभिन्न सामग्री तयार पार्छन् ।


ADVERTISEMENT


माटो अभावमा समुदायबाटै पेशा नै लोप हुँदै गएपछि ३१ वर्षीय कुमालले भने माटो किनेर भए पनि जसोतसो पेशालाई निरन्तरता दिँदै आएका छन् । सानै उमेरदेखि बाबुबाट माटोको भाँडा बनाउने सीप सिकेका कुमालले अहिले व्यावसायिक तवरबाट यो पेशा अँगालेका छन् ।


ADVERTISEMENT

# # #


पहिले माटो निकाल्दै आएको सार्वजनिक जग्गामा नेपाली सेनाले अतिक्रमण गरेपछि स्थानीय व्यक्तिसँग समन्वय गरेर माटो खरीद गरी पेशा चलाउन बाध्य भएको उनले बताए ।  “माटो पनि किन्नु परेपछि अधिकांशले पेशा छाड्दै गएका छन्, मैले मात्र माटो किनेर भए पनि जसोतसो दुःख गरेर भए पनि यो पेशालाई निरन्तरता दिइरहेको छु”, उनले भने।

स्थानीय व्यक्तिसँग प्रतिबोरा रु ५० देखि १०० सम्ममा माटो खरीद गर्दै आइरहेको उनले जानकारी दिए । माटो खरीदमा पैसा खर्च गर्नुपर्दा व्यवसायमा भने समस्या परेको कुमालको गुनासो छ ।  “माटो किन्न नपर्ने भए पेशा धान्न समस्या छैन, बिक्री सजिलै भइरहेको छ,” उनले भने, “गाउँमा माटो अभाव भएपछि सबैले पेशा छाडिसकेका छन्, म एक्लैले सम्हाल्दै आएको छु ।” कुमालले माटोबाट बन्ने हाडी, घैटी, खुत्रुकेलगायतका विभिन्न सामान तयार पार्छन् । साइज हेरेर रु २५० देखि एक हजार ५०० सम्मको मूल्यमा बिक्री भइरहेको छ ।

माटो तयार भएको खण्डमा दिनमा ५० भन्दा बढी हाडी, घैटी, खुत्रुके लगायतका सामग्री तयार पार्ने गरेको बताउँदै उहाँल माटोको व्यवस्था गरिदिन स्थानीय निकायसँग आग्रह गरे । कुमालले माटोका भाँडा बनाएर मासिक रु ४० हजारसम्म कमाइ गर्छन्।

बजारमा माटोका भाँडाको माग राम्रै हुँदा बिक्रीका लागि सहज रहेको उनले बताए । कुमालले यही पेशाबाट चार जनाको परिवार धान्दै आएका छन् । कुमालले बनाएको भाँडा अवलोकन गर्न पुगेका रामपुर नगरपालिका नगरप्रमुख रमणबहादुर थापाले रु रु ५० हजार रकम दिने घोषणा गर्दै पेशालाई निरन्तर रुपमा अगाडि बढाउन अनुरोध गरे ।

सोही ठाउँकै माटोको भाँडा बनाएर जीविका चलाउँदै आएकी दुर्गादेवी कुमाल माटो अभावमा पेशा नै छाड्न बाध्य भएको बताउँनिछ् । पुस्तौदेखि गर्दै आएको पेशा खोसिन पुग्दा धेरैको रोजीरोटी गुमेको छ । सार्वजनिक जग्गामा माटो निकाल्न रोक लगाएपछि माटोको भाँडा बनाउने पेशा संकटमा परेको ७५ वर्षका गंगाबहादुर कुमालको भनाइ छ । उपयुक्त माटोको स्रोत अभावमा पेशा नै हराउँदै गएको छ ।

कुमाल समुदायले माटोको भाँडा बनाउन माग गरेको खण्डमा आवश्यक सहयोग गर्ने वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपाने बताउँछन् । जिल्लाको घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङ्धारा, ख्याहालगायतका स्थानमा बसोबास गर्दै आएका कुमाल जातिले माटोका भाँडा बेचेर आफ्नो जीवन निर्वाह गदै आए पनि अहिले यो पेशा लोप हुँदै गएको छ ।

वर्षौदेखि गर्दै आएको पेशा सङ्कटमा पर्न थालेपछि कतिपय कुमालले पल्लेदारी र मजदूरी गरी दैनिक गुजारा गर्न बाध्य भएका छन् । रासस