काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गुठीसम्बन्धी विधेयक संसदबाहिर गएर फिर्ता लिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति देउवाले संसदमा आइसकेको विधेयक संसदबाहिर गएर फिर्ता लिनु गैरसंसदीय व्यवहार रहेको टिप्पणी गरे । ‘संसदमा आएको विधेयक सम्बन्धित मन्त्रीले फिर्ता लिने हो । त्यो पनि संसद चलिरहेका बेला आएर । बाहिर फिर्ता लिन मिल्छ ?’ उनले प्रश्न गरे, ‘कहाँको संसदीय व्यवस्था हो यो ?’


ADVERTISEMENT

# # #


सरकारले विधेयक फिर्ता लिएकोमा कांग्रेस सकारात्मक भएपनि संसदको विधेयक संसदबाटै फिर्ता लिनुपर्ने उनको भनाइ थियो ।  मंगलबार आफूले प्रधानमन्त्रीभन्दा पहिले बोल्न पाउनुपर्ने भन्दै कांग्रेसले संसद अवरुद्ध गरेको थियो । भूमी व्यवस्थामन्त्री पद्मा अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गुठीसम्बन्धि विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन् ।

यस्तै उनले आफूले समय माग्दा पनि बोल्न नपाएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘हिजो मैँले पहिले समय मागिसकेको थिएँ । मेरो गुठीसम्बन्धीमात्रै कुरा थिएन । धेरै विषयमा बोल्नुपर्ने थियो । पहिला मैँले बोल्दा उहाँले जवाफ दिन पाउनुहुन्थ्यो ।’ देउवाले भने, ‘संसारभरि सदन विपक्षीको हुन्छ, सरकार सत्तापक्षको हुन्छ । उहाँले यो कुरा बुझ्नुपर्ने हो । तर यहाँ उल्टो भएको छ ।’

प्रधानमन्त्रीले जबरजस्ती बोल्न खोज्दा कांग्रेसले विरोध गरेको उनले बताए । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाई बोल्न नदिएर त्यहीँ लडेको स्मरण गर्दै देउवाले भने, ‘४८ दिनसम्म उहाँहरुले संसद अवरुद्ध गर्नुभएको हो । हामीले त्यसो गरेका छैनौँ नि ?’

‘काम गर्ने सरकारले र बोल्ने विपक्षीले’ भन्ने भनाई विश्वव्यापी रहेको छ । सरकारले बोल्नुपर्ने, विपक्षीले बोल्न नपाउने ? यस्तो लोकतन्त्र हुन्छ ?’ देउवाले प्रश्न गरे, ‘म ४८ सालदेखि संसदमा भएको मान्छे हुँ । प्रधानमन्त्रीले उहाँलाई थाहै छैन भन्ने कुरा हुन्छ ?’ सरकारको बलमिच्याई कांग्रेस कुनैपनि हालतमा मान्न तयार नरहेको उनले बताए ।

यस्तै उनले प्रधानमन्त्रीको बेलायत भ्रमण बाहिर तामझाम भएपनि भित्र केही काम हुन नसकेको र प्रधानमन्त्रीको विदेश भ्रमण असफल भएको दाबी गरे । ‘औपचारिक भ्रमण त मैँले पनि गरेको हुँ । त्यतिबेला पनि मैँले गारखा भूतपूर्वको पेन्सन बढाउने कुरामा सहमति गरेको थिएँ । तर, अहिले एउटा पनि केही भएको छैन । त्यो पनि राजीनामा दिएकी प्रधानमन्त्रीलाई भेटेर के हुन्छ ?’ उनले भने, ‘नेपालको प्रधानमन्त्रीजस्तै फ्रान्सको कार्यकारी अधिकार राष्ट्रपतिमा हुन्छ । फ्रान्सको कार्यकारीले नै उहाँलाई भेटको समय दिएनछ । त्यसकारण उहाँको विदेश भ्रमण असफल भएको छ ।’

देउवाले १७ वर्षअघि प्रधानमन्त्रीका रूपमा बेलायत भ्रमणमा गएका थिए। त्यसपछि बेलायत भ्रमण गर्ने ओली पहिलो प्रधानमन्त्री हुन्।

यस्तै उनले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकमा भएको कारबाहीबो व्यवस्थाले मिडियालाई धम्क्याउने, तर्साउने काम गरेको भन्दै लोकतन्त्रमा निर्वाध स्वतन्त्रता कायम गरिनुपर्ने बताए ।

‘लोकतन्त्रमा बोल्ने, लेख्ने पूरा स्वतन्त्रता हुन्छ । राम्रो वा खराब लेखेमा ऊ नै जिम्मेवार हुन्छ । तर प्रजातन्त्रमा निर्बाध बोल्न पाइन्छ, लेख्न पाइन्छ ।’ उनले भने, ‘त्यसमा दण्डको व्यवस्था गरेर मान्छेलाई बोल्नै, लेख्ने डराउने बनाउने ? यो विधेयक प्रजातन्त्रमाथिको आक्रमण हो । बहुदलीय व्यवस्थामाथिको आक्रमण हो ।’

उनले मिडिया काउन्सिल विधेयक कुनैपनि हालतमा पास गर्न नदिने बताए ।