काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य सोमपाल कामीले क्यानडाको ग्लोबल टी–२० क्रिकेट प्रतियोगितामा अवसर पाए उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार मात्रै पहिलो पटक अन्तर्राष्ट्रिय फ्रन्चाइज क्रिकेट लिगका रुपमा ग्लोबल टी–२० क्रिकेट प्रतियोगितामा छनोट भएका सोमपालले आफू निकै उत्साहित रहेको बताए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सोमपालले भने, ‘खुशी लागि रहेको छ । पहिलेदेखि लाग्थ्यो हामी पनि सक्षम छौं । अब केही गरेर देखाउने छु ।’


ADVERTISEMENT

# # #


ग्लोबल टी २० ले प्रतिष्ठित लिग इण्डिन प्रिमियर लिग (आइपीएल) को ढोका खोल्ने सोमपालले विश्वास व्यक्त गरे । ‘सुरुमा क्रिकेट खेल्न नेपाल आउँदा मेरो लक्ष्य मात्र नेपाली राष्ट्रिय टोलीबाट खेल्ने थियो । नेपालका लागि ठूलो–ठूलो खेलहरु खेल्दै म आईपीएललाई हेरी राख्थे ।’ उनले भने, ‘मलाई पनि लाग्थ्यो कि हामीले पनि त्यो लिग खेल्न सक्छौँ । आईपीएल खेल्ने अवसर त जुरेको छैन् । सायद यो नै सुरुवात हो ।’

दुई वर्षअघिदेखि सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आएका छन् । अब त्यसमा सोमपाल पनि थपिएका छन् । प्रतियोगितामा अन्तिम ११ मा पर्ने विश्वास राखे । तर, खेलहरु खेल्न पाउने–नपाउने भन्ने कप्तान, प्रशिक्षक र टिमको आवश्यक्तसँगै आफ्नो प्रदर्शनमा भर पर्ने उनको भनाई थियो ।

साथै आफू अन्तर्राष्ट्रिय लिग खेल्न लागेको सुन्दा सबै खुसी भएको बताउँदै उनले एक दिन आइपीएल खलेर आफ्ना बुवालाई खुसी पार्ने विश्वास व्यक्त गरे । ‘परिवार सबै खुसी भएका छन् । तर, मेरो बुबालाई भारतीय टिम र आईपीएल क्रिकेट नै सबैभन्दा ठूलो लाग्छ । आशा छ एकदिन आईपीएल पनि खेल्नेछु’ सोमपालले भने ।

बिहीबार भएको ड्राफ्टमा सोमपाललाई ११ औं राउन्डमा विनिपिग हक्सले तीन हजार अमेरिकी डलरमा लिएको हो । सोमपालको टिममा डरेन ब्राभो, जेपी डुमिनी, साइमन अनवर लगायत छन् ।

यस्तै अर्को स्पिनर सन्दीप लामिछानेले पनि आफूभन्दा पनि सोमपालले अन्तराष्ट्रिय लिग खेल्न लागेकोमा खुसी व्यक्त गरे । संयक्त पत्रकार सम्मेलनमा बोल्दै उनले सोमपालसंगै भविष्यमा अन्य नेपाली खेलाडीले पनि मौका पाउने विश्वास व्यक्त गरे ।

सन्दीप ग्लोबल टी–२० टोरोन्टो नेशनल्सबाट खेल्दै छन् ।