काठमाडौँ – पछिल्लो समय नेपाली दर्शक स्रोताको मसखमै झुण्डिएको छ नेपाली लोक गीत ‘गलबन्दी’ । लोकदोहोरीका पारखीमात्रै होइन, अन्यले पनि यही गीत गुन्गुनाइरहेका छन् ।


ADVERTISEMENT


युट्युबमा अपलोड गरिएको एक महिना नपुग्दै डेढ करोड बढी दर्शकले हेरिसकेका छन् । तर, प्रकाश सपुत र शान्ति श्री परियारको आवाज रहेको लोकगीत ‘गलबन्दी’ जसरी चर्चित भयो त्यसरी नै विवादित पनि बन्यो । अग्रज गायक शम्भु राईले आफ्नो गीतको भाका नक्कल गरेर प्रकाश सपुतले ‘गलबन्दी’ बनाएको आरोप लगाए । आफुले ५ वर्ष अगाडि गाएको ‘देउसी भैली’ गीतसँग प्रकाशको ‘गलबन्दी’ को लय मिलेको उनले दाबी गरेका छन् ।


ADVERTISEMENT

# # #


तर प्रकाश सपुतले भने आफूले राईको उक्त गीत सुन्दै नसुनेको दाबी गर्दै चिठीसमेत लेखे । कसले कसको लय वा भाका चोरेको वा ‘कपी’ गरेको हो भनेर अहिले बहस र वादविवाद भइरहेका छन् ।

यही विषयले अहिले संसदमा समेत प्रवेश पाएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले आवाज उठाएका हुन् । बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले प्रकाश सपुतमाथि जातीय भेदभाव गरेको आरोप लगाए ।

नेपालको मौलिक संस्कृतिलाई समृद्ध बनाउने कलाकार प्रकाश सपुत र शान्तिश्री परियारलाई सरकारको सम्बन्धित निकायले उच्च सम्मान गर्नुपर्नेमा सत्तारुढ दलकै भातृ संस्थामा आवद्ध कलाकार शम्भु राईले मेरो लय नक्कल गरेको भनेर मुद्दा हालेछन् ।’ उनले भने, ‘हामीले बुझ्नुपर्ने कुरा के भने लोकभाका भनेको पूर्वजहरुले गाउँदै र उनीहरुका अनुयायीहरुले पच्छ्याउँदै पुस्तौँपुस्तासम्म जीवित राख्नु हो ।’

एक दिन, एक पटक, एक कलाकारले गाएको, गाउने वा रेकर्ड गरिएको गीत लोकभाका हुन नसक्ने भन्दै उनले गाउँघरमा मेलापात, रत्यौली, रोधीघरमा, गोठालोमा जाँदा स्वतस्फुर्त रुपमा गाइने भाका नै लोक भाका भएकाले यो भाका नक्कल चोरी हुन नसक्ने उनले बताए । ‘प्रकाश सपुतले गाएको भाका कसैसंग मेल खाँदैन । शम्भु राईसंग मेल खाने त कुरै भएन ।’ उनले भने, ‘तर बिडम्बना एक सामान्य कलाकारले अति मन छुने स्वर, शैली र छायाङ्कनसमेत गरी प्रस्तुत गरेको गीतमा ए फरक भूगोल, फरक परिवेश, फरक शब्द र फरक कालखण्डमा उस्तैउस्तै गीत मैँले पनि गाएको थिएँ, नक्कल भयो भनि मुद्दा हाल्न पुग्नु एक प्रतिष्ठित कलाकारका लागि लज्जाको विषय बन्नुपर्ने हो ।’

तर शम्भु राई र उनका मतियारहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावका दृष्टिले अति नीच गाली गलौच गर्ने र उनलाई हतोत्साहित बनाउने नियतले निरन्तर लागि परेको सांसद विश्वकर्माले दाबी गरे ।

शम्भु राईले जातीय भेदभाव गरेको जिकिर गर्दै सांसद विश्वकर्माले जातीय छुवाछुत तथा भेदभाव कसुर बमोजिम कारबाही गर्नुपर्ने माग गरे । ‘संविधान, कानुन र सामासजक सद्भावको बर्खिलाप हुनेगरी सिंगो दलित समुदायलाई अपमानित हुनेगरी उनीहरुमाथि नीच ढंगले जातीय भेदभाव र अपमान गरेको हुनाले साइबर कानुन अन्तर्गत जातीय छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन २०६८ अन्तर्गत र संविधानको धारा २४ अन्तर्गत उनीहरुलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दुछु’ उनले भने ।

शम्भु राईलाई सजाय नदिए सिंगो दलित समुदाय आन्दोलनमा उत्रिने उनले चेतावनी दिए । सरकारले नै सामाजिक सद्भाव र जाती जातीका बीचमा, नागरिक नागरिका बीचमा द्वन्द्व गराउन चाहेको उनले आरोप लगाए । रेशम चौधरीको उदाहरण दिँदै उनले उक्त घटनामा संलग्न अन्य मानिहरु संसदमा माननीयका रुपमा रहेपनि चौधरी र थारु भएकै कारणले अस्पतालमा समेत रेशम चौधरीलाई नेल लगाएको बताए ।