सर्लाही – प्रहरी र स्थानीयबासीबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर आइतबार सर्लाहीमा एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


प्रहरीको गोली लागेर इश्वरपुर नगरपालिका-१३ श्रीपुरका अन्दाजी २५ वर्षीय सरोज नारायण महतोको मृत्यु भएको हो । मृत्यु भएका सरोज नारायणको टाउकोमा गोली लागेको छ ।


ADVERTISEMENT

# # #


शनिबार पानी जमेको खाल्डोमा डुबेर इश्वरपुर नगरपालिका–१३ श्रीपुरका १२ वर्षीय बालक अमित रायको मृत्यु भएको विषयमा विरोध हुँदा झडप भएको हो । खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय वासिन्दाले बालकको शवसहित राजमार्गमा प्रदर्शन गरेका थिए ।

राजमार्गको अवरोध खुलाउने क्रममा प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएको सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
प्रहरीको गोली लागेर अर्का एक प्रदर्शनकारी पनि घाइते भएका छन् । उनको तिघ्रामा गोली लागेको छ ।

एसपी भट्टराईका अनुसार ११ जना नेपाल प्रहरी र ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। स्थानीयका अनुसार प्रहरीले बाटो खुला गर्न माइकबाट सचेत गराएको केही बेरमै लाठि चार्ज सुरु गरेको थियो । प्रहरीले लाठी चार्ज गरेपछि प्रदर्शनकारी भाग्दै ढुंगा हान्न थाले । त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।