काठमाडौँ – जारी विश्कप क्रिकेटमा बुधबार आयोजक इङ्ल्याण्ड न्यूजिल्याण्डलाई पराजित गर्दै सेमिफाइनल पुगेको छ । इङ्ल्याण्डसंगै अष्ट्रेलिया र भारतले पनि सेमिफाइनलमा आफ्नो स्थान बनाइसकेका छन् ।


ADVERTISEMENT


इङ्ल्याण्ड सेमिफाइनल प्रवेश गरेसंगै पाकिस्तानको सेमिफाइनलको यात्रा निकै कठिन मोडमा पुगेको छ । अर्थात उसको विश्वकप यात्रा समूह चरणमै सीमित हुने लगभग पक्काजस्तै भएको छ ।


ADVERTISEMENT

# # #


अष्ट्रेलिया, भारत र इङ्ल्याण्ड समिफाइनलमा पुगेको र अन्य टिम बाहिरिसकेको अवस्थामा चारमध्ये बाँकी रहेको एउटा टिम पाकिस्तान र न्यूजिल्याण्डबाट टुंगो लाग्नेछ । पाकिस्तानले ८ खेलमा ४ जित र एक बराबरी गर्दै ९ अंक बटुलेको छ । अब उसले बंगलादेशसंग खेल्न बाँकी छ । उक्त खेल जितेमा पाकिस्तानको ११ अंक हुनेछ ।

यता न्यूजिल्याण्डले पनि ९ खेलमा ५ जितसहित ११ अंक बटुलिसकेको छ । यस्तो अवस्थामा नेट रन रेटले काम गर्नेछ । जसको नेट रनरेट बढी छ, त्यो टिमले सेमिफाइनलको ढोका खोल्नेछ ।

कसरी पुग्छ पाकिस्तान सेमिफाइनल ?

बंगलादेशविरुद्ध ५ जुलाई अर्थात शुक्रबार हुने खेलमा पाकिस्तानलाई जितले मात्रै पुग्ने छैन, एउटा चमत्कारको नै आवश्यकता पर्नेछ । जसका लागि उसले टस जित्नुपर्नेछ र ब्याटिङ रोज्नु्पर्नेछ । यदि टस हारेमा वा टस जितेर बलिङ रोजेमा पाकिस्तान पहिलो बल फाल्नुभन्दा पहिले नै विश्वकपबाट बाहिरिनेछ । किनकी त्यो अवस्थामा पाकिस्तानको नेट रनरेट न्यूजिल्याण्डको भन्दा कम हुनेछ । त्यसकारण उसले जसरी पनि पहिले ब्याटिङ गर्नैपर्नेछ ।

टस जितेर ब्याटिङ थालेमा पाकिस्तानले ब्याटमा जादू देखाउँदै कम्तीमा ३५५ रन कटाउनुपर्नेछ । यति गरेपनि पाकिस्तानलाई पुग्ने छैन । अर्को एउटा चमत्कार आवश्यक छ । त्यो हो बंगलादेशलाई ३१६ रनले हराउनु । त्यसका लागि पाकिस्तानले बंगलादेशलाई ३९ रनमा नै अलआउट गर्नुपर्ने हुन्छ ।

यदि पाकिस्तानले ४०० रन बनाएमा उसले बंगलादेशलाई ८४ रनमा अलआउट गर्नुपर्नेछ । त्यो भएमा पाकिस्तानको न्यूजिल्याण्डको भन्दा बढी रनरेट हुनेछ । तर, बंगलादेशविरुद्ध पाकिस्तानले यस्तो प्रदर्शन गर्नु सपना बाहिरको कुरा हो ।

यस्तो अवस्थालाई हेर्दा के निष्कर्ष निकाल्न सकिन्छ भने पाकिस्तानको सेमिफाइनल पुग्ने सपना लगभग चकनाचुर भइसकेको छ । तर, ‘क्रिकेटमा अन्तिम बलसम्म जे पनि हुनसक्छ’ भन्ने भनाई तपाईं हामीलाई थाहै छ ।