एजेन्सी – इङ्गल्याण्डमा जारी क्रिकेट विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डसंग पराजित भएसंगै यस वर्ष विश्वकप जित्ने भारतको सपना समाप्त भयो । न्यूजिल्याण्ड विरुद्धको हार खेलाडीमात्र होइन, भारतीय क्रिकेट प्रशंसकका आँखामा समेत केही दिनसम्म बिझाइरहेनेछ । किनकी यस पटक भारतले नै ट्रफी जित्ने उनीहरुको आँकलन थियो र आशा पनि ।


ADVERTISEMENT


सडकदेखि सामाजिक सञ्जालसम्म अहिले थुप्रै जिज्ञासा पैदा भएका छन्, यदि धोनी उक्त बलमा दुई रन लिने चक्करमा नपरेको भए ? वा जडेजा केही समयसम्म टिकेको भए ? पन्तले थोरै समझदारी पूर्ण ब्याटिङ्ग गरेको भए ? वा ओपनरले कम्तीमा ३०–४० रनको साझेदारी गरेको भए ? तर, जेसुकै प्रश्न गरेपनि हुने कुरा भइहाल्यो । अब भारतीय प्रशंसक र खेलाडीले गल्तीबाट पाठ सिकेर यो विश्वकपलाई भुल्नुबाहेक कुनै उपाय छैन ।


ADVERTISEMENT

# # #


भारतले यो पटकको विश्वकप गुमायो । अब २०२३ मा उसले आफ्नै घरमा विश्वकप आयोजना गर्ने मौका पाउँदैछ । त्यतिबेला पनि भारत विश्वकप जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछ, अहिलेको जस्तै । तर, २०२३ को अवस्था अहिलेको जस्तै दोहोरिने सम्भावना प्रचुर रहेको छ । अर्थात सन् २०२३ मा भारतले आफ्नै मैदानमा पनि विश्वकप जित्न त्यती सहज हुने छैन । त्यसका लागि यी कारण जान्नुहोस् ।

सिनियर खेलाडीको उमेरको चिन्ता

भारतीय टिमलाई अहिले सिनियर खेलाडीले नै सम्हालिरहेका छन् । दिग्गज ओपनर रोहित शर्मा, शिखर धवन आगामी विश्वकपमा ३६ वर्ष पार गरिसकेका हुनेछन् । विराट कोहली ३५ वर्षका हुनेछन् । ३५–३६ वर्षको उमेर खेलकुदका क्षेत्रमा अलि बढी नै मानिन्छ, भलै अन्य क्षेत्रमा युवा किन नहोस् ।

यो उमेरमा ब्याटिङ्ग गर्दा ब्याट्सम्यानको नजरमा कमी आउँछ । बललाई पढ्ने क्षमता विस्तारै कम हुँदै जान्छ । जुन समस्या यसअघि युवराज सिंह र विरेन्द्र सेहवागबाट देखिसकिएको छ । यो उमेरसम्म अधिकांश खेलाडीहरुले सन्यास लिइसक्छन् ।

अहिले रोहित शर्मा, विराट कोहली र शिखर धवन खेलजीवनकै उच्च लयमा छन् । तर ४ वर्षपछि पनि उनीहरु यस्तै लयमा रहनेछन् भन्ने छैन । त्यसकारण यी तीन खेलाडी त्यतीबेला टिममा नहुन सक्छन् वा भइहाले पनि टिमले अपेक्षा गरेजस्तो प्रदर्शन नहुन सक्छ ।

चार नम्बरको खोजी गर्नु सबैभन्दा ठूलो चुनौति

भारतीय क्रिकेट टिम करिब चार वर्षदेखि चार नम्बरमा ब्याटिङ्ग गर्ने खेलाडीको खोजीमा रहेको छ । यो स्थानमा खेल्ने राम्रो ब्याट्सम्यान नहुँदा उसले पटकपटक समस्या झेलिरहेको छ । ‘चार नम्बर’को अभाव भारतले जारी विश्वकपभरि झेल्नुपर्यो । यसैकारण भारत सेमिफाइनलबाट बाहिरिनु परेको पनि कतिपयको विश्लेषण रहेको छ ।

भारतीय टिम व्यवस्थापनले यो स्थानमा हर खेलाडीलाई प्रयोग गर्यो, जसबाट धेरै आशा गरिएको हुन्छ । तर, पटकपटक असफल हुँदै आएको छ । जारी विश्वकपमा पनि भारतले चार नम्बरमा कहिले लोकेश राहुल, कहिले हार्दिक पाण्ड्या, कहिले रिशभ पन्त त कहिले दिनेश कार्थिक र विजय शंकरलाई खेलायो ।

यी बाहेक अम्बाती रायडू, केदार जादभ, सुरेश रैना, मनिस पाण्डे पनि चारनम्बरमा प्रयोग भइसकेका छन् । तर, कसैले पनि सफलता प्राप्त गर्न सकेनन् । भारतीय छनोटकर्ताले अब यी खेलाडीभन्दा बारिह गएर यस्तो खेलाडी छनोट गर्नुपर्नेछ, जसले चार नम्बरलाई उकास्न सकोस् र उसंग बाँकी उमेर पनि होस् । तर, यो उनीहरुका लागि त्यती सहज छैन ।

धोनीको स्थानमा को ?

जबजब विश्वका सबैभन्दा उत्कृष्ट विकेटकिपरको नाम आउँछ, तब महेन्द्र सिंह धोनीको नाम सबैभन्दा माथि हुन्छ । उनको विकेट किपिङ्गले दुनियाँका क्रिकेट प्रशंसकमात्र होइन, खेलाडीहरुको पनि मन लोभ्याउँछ । धोनीले डुब्न लागेको भारतीय ब्याटिङ्गलाई आफ्नो ‘फिनिसिङ्ग’ कौशलले बचाएका छन् । तर, अब धोनी ३८ वर्षका भइसके । सम्भवतः उनी आफ्नो करियरको अन्तिममा रहेका छन् ।

धोनीले जुनसुकै बेला पनि सन्यास लिन सक्छन् । यदि उनले तत्कालै सन्यास नलिएपनि २०२३ को विश्वकपमा खेल्ने सम्भावना भने छैन । किनकी उनी त्यतिबेला ४२ वर्ष भइसकेका हुनेछन् । यस अवस्थामा उनको स्थानमा एक विकेटकिपर खोज्नु भारतका लागि अर्को टाउको दुखाईको विषय हुन सक्छ ।

२०२३ को विश्वकप पनि जित्न सक्नेछैन भारत

गत महिना विश्वकपका लागि इङ्गल्याण्डको मैदानमा जब कोहलीको टिमले पाइला राखेको थियो, तब उक्त ट्रफीको प्रबल दाबेदार भारतलाई हेरिएको थियो । किनकी उसंग ब्याटिङ्गमा रोहित शर्मा, शिखर धवन र स्वयम् कप्तान विराट कोहली थिए । अनुभवी तथा दिग्गज ब्याट्सम्यान र विश्वकै उत्कृष्ट विकेट किपर महेन्द्र सिंह धोनी जस्ता खेलाडी थिए ।

यस्तै बलिङ्गतर्फ पनि विश्वकै नम्बर एक मानिएका तीव्र गतीका बलर जसप्रित बुमराह, स्पिनर युजेन्द्र चहाल, भुवनेश्वर कुमार र कुलदीप यादव थिए । तर, ४ वर्षपछि २०२३ मा यिनीमध्ये अधिकांश हुनेछैनन् । त्यसकारण २०२३ मा आफ्नै मैदानमा ट्रफी कब्जा गर्नु भारतका लागि त्यती सम्भव हुनछैन ।