काठमाडौं– कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेपालले अब द्वन्द्व धान्न नसक्ने बताउँदै सरकार र विववीच यथाशक्य चाँडो वार्ता हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै ज्ञवालीले अहिले मुलुकमा हतियार उठाउनुपर्ने कुनै आवश्यक नरहेको बताए ।


ADVERTISEMENT

# # #


‘जनता हिंसा चाहँदैनन् । हामी अब समाजवादी बाटोमा अघि बढिरहेका छौं ।’ उनले भने, ‘त्यसैले लोकतान्त्रिक बाटो र शान्तिको विकल्प छैन् ।’ ज्ञवालीले विप्लव नेकपाले समातेको बाटो नै गलत रहेको दाबी गरे । उनले भने,‘ उहाँहरुले लिएका एजेण्डा बेठिक छन् । उहाँहरुका खास केही एजेण्डा नै छैनन् । त्यसैले तपाईहरु शान्तिपूर्ण रुपमा राजनीतिमा आउनुहोस् ।’ सरकारले विप्लवसँग अनौपचारिक छलफल गरिरहेकोले अब औपचारिक छलफल नै गर्नुपर्ने पनि उनले सुझाए ।

कतिपय हतियारका व्यापारीहरु नेपालमा एक आपसमा लडाउन खोजिरहेका भन्दै उनले सबै सचेत हुनुपर्ने बताए ।

त्यस्तै, कार्यक्रममा जनसमाजवादी पार्टी, नेपालका अध्यक्ष सुवासराज काफ्लेले सरकार र विप्लवबीचको वार्ता पारदर्शी हुनुपर्ने उनको माग गरे । उनले भने, ‘मुलुकलाई अब धेरै द्वन्द्वमा नधकेलौं । सरकार र विप्लवबीचको वार्ता जनतालाई थाहा हुनुपर्छ । लेनदेन जनताले थाहा पाउनुपर्छ भन्ने हाम्रो भनाई हो ।’

कार्यक्रममा बरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष बोर्ण बहादुर कार्कीले देश अहिले धेरै जटिल अवस्थामा रहेको सुनाए । उनले भने,‘कतिवेला विष्फोटक हुन्छ थाहा छैन् । कुनैपनि बेला आन्तरिक गृहयुद्धमा फस्ने प्रूवल सम्भावना छ ।’

उनले सरकारले विप्लवसँग वार्ताको नाटक गरिरहेको पनि आरोप लगाए । उनले भने, ‘सरकारले वार्ताको नाटक गरिरहेको छ । तर, सरकारले वार्ताको नाटक गरेर दमनको तयारी गरिरहेको छ। सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले धाक दिएर हिजो भने अब विप्लवले आत्मसमर्पण गरेमात्रै वार्ता हुन्छ भनेर । यो त वार्ता नगर्ने नाटक हो ।’

कार्यक्रममा वामपन्थी नेता साध्यबहादुर भण्डारीले सरकार र विप्लवबीच निःशर्त वार्ता हुनुपर्ने माग राखेका थिए । उनले मुलुकलाई युद्धतर्फ धकेल्न नहुने धारणा राखेका थिए ।

त्यस्तै कार्यक्रममा माथिल्लो कर्णाली बचाउन अभियानका अभियन्ता भरतबहादुर शाहीले पनि सरकार र विप्लवबीच चाँडै वार्ता होस भन्ने धारणा राखेका थिए ।