काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले सिंगापुरमा सम्पन्न टी २० विश्वकपको एशिया छनोटमा ब्यहोरेको हारको जिम्मेवारी आफूले लिने बताएका छन् । आइतबार नेपालले आयोजक सिंगापुरसंग ८२ रनको लज्जास्पद हार ब्यहोर्दै युएईमा हुने ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।


ADVERTISEMENT


हारपछि बोल्दै कप्तान पारसले सिंगापुरले राम्रो ब्याटिङ गरेकाले हार ब्यहोर्नुपर्नेको बताए । ‘हामीले आफ्नो क्षमता अनुसार प्रतियोगिताभर राम्रो खेल्न सकेनौँ । एउटा खेलाडी र कप्तानको रुपमा म यसको जिम्मेवारी लिन्छु’ उनले भने, ‘ग्लोबल छनोटमा पुगेर फेरि एकपटक विश्वकप खेल्ने सपना थियो । तर यसपाली हामीले त्यो गर्न सकेनौँ । दुःख लागेको छ ।’


ADVERTISEMENT

# # #


यस्तै उनले नेपालले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको बताए । यद्दपी टी २० क्रिकेटमा जुनसुकै टिमले जुनसुकै टिमलाई हराउन सक्ने भएकाले अझ बलियो भएर आउनुपर्ने बताए । उनले भने, ‘मान्छेहरु भन्छन् सिंगापुर त हो, कतारको त हो । तर, टी २० यस्तै छ । जुनसुकै टिमले जुनसुकै टिमलाई हराउन सक्छ ।’

एउटा प्रतियोगिता हार्दैमा नेपालको सबै सकियो भन्ने नभएको उनले बताए । ‘सबै सकिसकेको छैन । हामीएसंग एकदिवसीय मान्यता छ । त्यसलाई राम्रोसंग उपयोग गर्नुपर्छ । यहाँबाट व्यक्तिगत र टिमका रुपमा गल्तीहरुबाट पाठ सिक्दै आगामी दिनमा राम्रो गर्नुपर्छ ।’

‘सम्पूर्ण टिमको तर्फबाट प्रशंसकहरुसमक्ष म क्षमा माग्छु ।’ कप्तान पारसले भने, ‘तपाईहरुले हामीलाई निरन्तर समर्थन गर्दै आउनुभएको छ । अब हामीले भाग्यले नभई मेहनेतले जित्ने टिम बन्नुछ ।’