भद्रपुर – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्षसम्म सरकार सञ्चालन हुने बताएका छन् ।


ADVERTISEMENT


झापाको चन्द्रगढीमा आज प्रेस सङ्गठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था आए पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुन्छ ।”


ADVERTISEMENT

# # #


वरिष्ठ नेता खनालले पार्टी एकीकरणको विषयले एक वर्षसम्म पार्टीका काममा केही गतिरोध आए पनि एकताका प्रक्रिया केन्द्रदेखि गाउँ–टोलसम्म नै टुङ्गिसकेकाले सबै तहका कमिटीहरु अब पूर्णरुपमा चलायमान हुने बताउँदै मुलुकको विकास र समृद्धिका लागि अब तीनै तहका सरकारलाई गतिशील बनाउनुपर्छ भने ।

वर्तमान सरकारले संविधान कार्यान्वयन, सङ्घीय शासकीयस्वरुपअन्तर्गतका ऐन–कानून निर्माण र लागू गर्ने सन्दर्भमा उल्लेख्य काम गरेको उल्लेख गर्दै उनले सरकारले ल्याएका केही विधेयक विवादस्पद देखिएकाले ती विधेयकका विषयमा छलफल गरेर अघि बढ्नुपर्ने बताए ।

नेता खनाल आजदेखि भद्रपुर जेसिजको आतिथ्यमा भद्रपुरमा हुनलागेको नेपाल जेसिजको क्षेत्र ‘क’ सम्मेलनको उद्घाटनका लागि झापा आएका हुन् । रासस