काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार हावादारी प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


शनिबार रिपोर्टर्स क्लबमा बोल्दै डा. महतले वर्तमान सरकारले आकाशे र उडन्ते कुरा गरेर समय व्यतित गरिरहेको आरोप लगाएका हुन् । उनले भने,‘सरकारले पानीजहाज, रेल ल्याउने लगायतका हावादारी कुरा गरिरहेको छ । कहिले १५ हजार अट्ने सम्मेलन केन्द्र बनाउँछु भन्छ, कहिले के भन्छ । कहिले प्रधानमन्त्री निवास करोडौं खर्चिएर नयाँ बनाउने कुरा त, कहिले राष्ट्रपति निवासलाई फराकिलो बनाउने कुरा भएका छन् ।’


ADVERTISEMENT

# # #


महतले सरकारले उपभोग्य कुरामा बढि खर्च गरेको गुनासो पोखे । सरकारले वास्तविक आवश्यकत्ता के हो भनेर खुट्याउन नसकेको र कार्यक्रमको प्राथमिकीकरण नै गर्न नसकेको उनको आरोप छ ।

उनले अहिलेपनि काठमाडौंबाट धादिङ, नुवाकोट, सिन्धुपाल्चोक जाने सडकहरु अलपत्र अवस्थामा रहेको सुनाए । उनले भने, ‘ललितपुरका कतिपय सडकका समस्या अहिलेपनि समाधान भएकै छैनन् ।’ उनले यातायातमा अहिले भएकै पूर्वाधारलाई स्तरोन्नती गर्नुपर्नेमा जोड दिए । महतले १२ महिनै सुचारु हुने सडक बनाउनुपर्नेतर्फ सरकारको ध्यानाकार्षण गराए ।

उनले अहिले विश्वका जुनसुकै मुलकको पनि मूल एजेण्डा आर्थिक विकास र समृद्धि भएको सुनाउँदै नेपालले पनि आर्थिक एजेण्डालाई आत्मसात गर्नु खुशीको कुरा भएको टिप्पणी गरे । तर, समृद्धि हाँसिल गर्न त्यति सजिलो नभएको महतको भनाई छ । अहिले देशमा भ्रष्टाचार, लुटतन्त्र र विभिन्न स्क्याण्डलका बारेमा कुरा उठेको पनि उनले सुनाए ।

महतले देशमा भएका तीन तहका सरकारबीच समन्वय र सहकार्य नभएको पनि गुनासो पोखे । संघीयता कार्यान्वयनको लागि आवश्यक कतिपय कानूनहरु अझैपनि संसदबाट पारित नभएको उनको अर्को गुनासो छ ।

विगतका सरकारले अघि बढाएका (कतिपय त रातो किताब)मा समेत परेका योजनाहरु रोकिएको उनले सुनाए । सरकारले खर्च बढाएकोमा पनि उनले असन्तुष्टि पोखे । उनले भने,‘सरकारले राष्ट्रिय ऋण बढाईरहेको छ । यो वर्ष ५ सय अर्ब ऋण पुर्याएको छ । जसमा आन्तरिकतर्फ २ सय अर्ब र बाहृयतर्फ ३ सय अर्ब छ ।’

उनले पञ्चायतपछि अर्थात २०४१ सालपछि आफूहरु सरकारमा आएपछि कुल ग्राहस्थ उत्पादनको ६० प्रतिशत ऋणलाई घटाएको दाबी गरे । उनले आर्थिक वृद्धिदर ७ प्रतिशत हाँसिल गरेको भन्ने वर्तमान सरकारको दाबीमा पनि सत्यता नरहेको जिकिर गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा मात्रै २४ अर्वको योजना परेको भन्दै उनले राज्यको ढुकुटीको दुरुपयोग गर्न नहुने धारणा राखे । सरकारले शक्तिको ज्यादै दुरुपयोग गरिरहे कांग्रेसले सडक र सदन दुवै ठाउँबाट संघर्षका कार्यक्रम सुरु गर्ने पनि उनले चेतावनी दिए ।