काठमाडौँ – नेपालीहरूको महानचाड दशैँ, तिहार, नेपाल संवत् र छठको शान्ति सुरक्षाका लागि काठमाडौँ उपत्यकालाई लक्षित गरी प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ । चाडवाडको बेला घरकोठाको झ्याल–ढोका बलियो पारि बाहिर निष्कँदा सुरक्षित हुन्छ भन्ने सन्देश फैलाउँदै आएको प्रहरीले यस पटक भने पुरानो सन्देशमा परिवर्तन ल्याएको छ । महानगरीय प्रहरीले अब झ्यालढोका बलियो गरी लगाएर मात्र हुँदैन नजिकको प्रहरी तथा विश्वासिलो छरछिमेकीलाई समेत साक्षी राखेर बाहिर निष्कन आग्रह गरेको छ ।


ADVERTISEMENT


कोही नभएको घरकोठामा चोरी बढेपछि यस्तो सन्देश दिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले भने, ‘‘चोरी, डकैती र लुटपाटका घटनामा परिवर्तन आएकाले यस्तो सन्देश बाँडेका हौंँ ।’’ शङ्का लागेमा नजिकको प्रहरी तथा १०० मा फोन गर्नुहोला । सो योजना अनुसार, अपराध नियन्त्रण गर्नेदेखि ट्राफिक व्यवस्थापनसम्म रहेका छन् । उपत्यकाका तीनवटै प्रहरी परिसरहरू काठमाडौँ, ललितपुर र भक्तपुरका अतिरिक्त महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत सुरक्षाकर्मीहरू गरी करिब १० हजार प्रहरी परिचालन हुने छन् ।


ADVERTISEMENT

# # #


अपराध महाशाखाका प्रमुख सहकुल थापाका अनुसार, चाडवाडमा नगदका अतिरिक्त गरगहना तथा सवारी साधन चोरी अपराधका घटना बढी हुने भएकाले यसको नियन्त्रणका लागि छुट्टै तर विशेष किसिमको सुरक्षा रणनीति अपनाइएकोे छ । काठमाडौँवासीको शान्ति सुरक्षाका लागि जिल्लालाई १४ भागमा विभाजन गरी ६० वटा पैदल गस्ती, ६७ वटा स्थायी र ५७ वटा अस्थायी पिकेट (केन्द्र) स्थान छनोट गरेको छ । सहरका गल्लीसम्म प्रहरीको पहुँच बढाउन ३५ वटा हतियार सहितको साइकल गस्ती र ८३ वटा मोटरसाइकल गस्ती छुट्याइएको छ । त्यस्तै, आपराधिक गतिविधिका विषयमा सूचना सङ्कलन गर्न ७० जना सादा पोसाकको सूचना सङ्कलन टोली परिचालन गर्ने, ४६ वटा सीआरभी सवारीसहितको गस्ती र ४८ वटा मोटरसाइकल गस्ती खटाइने छ । प्रत्येक गस्ती टोलीमा हतियार र सञ्चार सेटसहितको प्रहरी हुने छन् ।

चाडवाडमा किनमेल हुने मुख्य व्यापारिक केन्द्र, सर्वसाधारणको बाक्लो भीड लाग्ने स्थानहरूमा सिल एन्डे सर्च (अपराधी पत्ता लगाउन प्रयोग गरिने कारबाही) र कर्डन एन्ड सर्च ३०–३० गरी ६० स्थानमा हुने जनाइएको छ । प्रहरीका तालिम प्राप्त कुकुरबाट चेकजाँच, ३० स्थानमा उच्च सुरक्षा निगरानी, कलङ्की, बल्खु, सुन्धारा, पुरानो बसपार्क रत्नपार्क, नयाँ बसपार्क गोंगबु, गौशला, तिलगङ्गा, चावहिल, कोटेश्वर, बालाजु चोक, माछापोखरी र जोरपाटी गरी १४ स्थानबाट सार्वजनिक यातायाको टिकट बिक्री वितरणको व्यवस्था गरिएको छ । ती स्थानमा सर्वसाधारण यात्रुको सुविधाका लागि प्रहरीले माइकिङ सेवासहितको सूचना तथा सहयोग डेस्क स्थापना गरेको छ । सर्वसाधारणको सहजता तथा यातायात सेवाका लागि यस्ता डेस्कहरू स्थापना गरिएको जनाइएको छ ।