चितवन– बुधवार साँझबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड आज दिउँसो २ः१० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


उक्त सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार पहिरोले बगाएको भालुढुंगाबाहेक अन्य ठाउँमा दुईतर्फी सडक सञ्चालनमा आएको हो ।


ADVERTISEMENT

# # #


गएराति बगाएको भालुढुंगामा भने एकतर्फी सञ्चालनमा आएको खनालले बताए । साँझसम्ममा सो ठाउँमा पनि दुईतर्फी सवारी सञ्चालनमा आउने उनले बताए । आयोजनाका इन्जिनियर खनालका अनुसार नारायणगढबाट २७ किमीको दूरीमा रहेको भालुढुंगामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको थियो ।

सो ठाउँमा तलबाट ग्याबिन लगाएर बाटोको सतह मिलाउनका लागि काम भइरहेको उनले बताए । सडकमा पहिरो पन्छाउन मुग्लिनतर्फ चार लोडर र दुई एक्साभेटर प्रयोग गरिएको थियो भने सिमलतालदेखि गाईघाटसम्म दुई लोडर र एक एक्साभेटरले पहिरो पन्छाइरहेका थिए ।

तीनदिनदेखि सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रु सडक सञ्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । सडकका संवेदनशील क्षेत्रमा पहिरोका बीचमा रहेका १२५ वटा सवारीसाधनलाई बिहीबार साँझ एकतर्फी सडक खोलेर गन्तव्यतर्फ पठाइएको थियो ।