उदयपुर — बजारमा महँगी बढेपछि दसैं चहलपहलमा कमी आएको छ । ग्रामीण क्षेत्रका बासिन्दामा खासै उत्साह छैन । आइतबार घटनास्थापनासँगै दसैं सुरु भए पनि महँगीका कारण बजारमा किनमेल पातलो छ ।


ADVERTISEMENT


‘धेरै वर्षपछि दसैं नरमाइलो लागेको छ,’ चौदण्डीगढी नगरपालिका ६ सिर्वानीका ६८ वर्षीय लालबहादुर राउतले भने, ‘महँगीको मार खपिसक्नु छैन ।’ गाउँघरको उत्पादनले दसैं धान्न सक्दैन । अन्य आम्दानीको स्रोत नहुँदा सर्वसाधारण ऋण लिएर दसैं मनाउनुपर्ने बाध्यतामा छन् ।

‘सामान्य जागिरले दसैं धान्न मुस्किल छ,’ राउतले भने, ‘छोरोको जागिरबाट आएको थोरै रकमले धान्नै नसक्ने अवस्था छ ।’ प्रहरी जवान छोरोले ३० हजार रुपैयाँ पठाउँदै दसैंमा आवश्यक पर्ने खसी, बालबच्चालाई कपडा र नुनतेल मरमसलाको जोहो गर्नु भनेको उनले सुनाए ।

‘३० हजारभन्दा धेरै पठाउन सकिएन, त्यसैले पुर्‍याउनु है बुबा भनेको छ,’ राउतले भने, ‘४ छोराछोरी, बूढाबूढी र दुई नातिलाई लुगा किन्दै १८ हजारले पनि पुगेन ।’ अब टीकोटालोका लागि रुपैयाँ, मासु र मरमसला १२ हजारले पुर्‍याउनुपर्ने बाध्यता छ तर पुर्‍याउन सक्ने अवस्थै नभएको उनले बताए । एउटा छोरा जागिरे हुँदा पनि राउतले दसैं नरमाइलो हुने बताए ।

उनकै छिमेकी कालु बस्नेतका छोराछोरी जागिरे छैनन् । आम्दानीको दरिलो स्रोत पनि छैन । ‘त्यसैले दसैं नआए पनि हुन्थ्यो लाग्छ,’ उनले भने, ‘हामी जोइपोइले दैनिक ज्यालादारीबाट कमाएको थोरै थोरै जम्मा गरेको धनले दसैं टार्नुपरेको छ ।’

बस्नेतका तीन छोराछोरीलाई लुगा किन्दा तीन महिनायता जम्मा गरेको थोरै रकम सकियो । इष्टमित्रले ज्याला मजदुर गर्दा खुसी भएर ज्याला बाहेक दसैंका लागि भनेर दिएको ४/५ पाथी धानको चामल तयार गरिएको कालुकी पत्नी सुन्तलीले बताइन् ।

‘छोराछोरीलाई लुगा, दुई छाक मीठो मसिनो खान चामल त भयो, अब मासु कहाँबाट जोहो गर्ने,’ चिन्तित हुँदै सुन्तलीले भनिन्, ‘साहुले पत्याए भने मासु खाउँला, नत्र के गर्ने ।’ गाईघाट बजारकी सुरिताकुमारी बस्नेतको अवस्था पनि भिन्न छैन । ‘महँगी झाँगिएको छ, सोचेको बजेटले भ्याउँदैन,’ उनले भनिन् । इष्टमित्र, साथीभाइ र छिमेकीका अनुसार गर्न सकिएन भने समाजमा बस्ने नसकिने उनले बताइन् । गाउँघरमा युवा पलायनले पनि दसैं खल्लो हुँदै गएको छ । तर त्योभन्दा बढी महँगीले गाँजेकाले समस्या बन्दै गएको हो । सहरमा समेत दसैं पहिलेको जस्तो रमाइलोसँग नआएको सदरमुकाम गाईघाटका नरेन्द्र थापाले बताए ।