काठमाडौं । बडाशैंको आठौँ दिन महाअष्टमी पर्व आज दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । आजको दिन विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।


ADVERTISEMENT


दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बली दिइ दुर्गा भवानीको विशेष पूजा गर्ने चलन छ । दशैँको अवसरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।


ADVERTISEMENT

# # #


आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाइ पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउँछन् । पशुबली नचढाउनेहरुले भने अष्टमीको दिन पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाइ पूजाआजा गर्ने गर्दछन् ।

आजै राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलीसहित कालरात्रि पूजा गर्ने गरिन्छ ।

आज काठमाण्डौ उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायतका मन्दिरहरुमा बलीसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ ।