काठमाडौं – यूएईमा जारी आईसीसी टी ट्वान्टी विश्वकप छनोटको प्रथम खेलमा सिंगापुरले स्कटल्याण्डमाथि दुई रनको जित हात पारेको छ । १६९ रनको लक्ष्य पछ्याउँदै स्कटल्याण्ड १६६ रनमा समेटिएपछि सिंगापुरले झिनो अन्तरको जित हात पार्न सफल भयो ।


ADVERTISEMENT


स्कटल्याण्डले उत्कृष्ट सुरुवात गरेपनि पुछारका ब्याट्सम्यानहरु संयमित हुन नसक्दा उसले हार बेहोर्नुपर्यो । ७० रनको स्थितिमा मात्र एक विकेट गुमाएको स्कटल्याण्डले बाँकीको ९६ रन जोडन महत्वपूर्ण आठ विकेट गुमायो । अन्तिम बलमा तीन रन ल्याउन आवश्यक छँदा स्कटल्याण्ड सकेनन । सिंगापुरका बलरहरुले वापसी गर्दा स्कटल्याण्ड पुरा २० ओभर खेलेपनि १६६ रनमा खुम्चिन पुग्यो ।


ADVERTISEMENT

# # #


स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सीले सर्वाधिक ४६ तथा कप्तान कायल कोर्जरले ३८ रनको पारी खेले। चौथो नम्बरमा आएका क्यालम म्याक्लोइडले ४४ रनको योगदान गरेर स्कटिश पारीलाई केही स्थिरता दिने प्रयत्न गरेपनि पुछारका ब्याट्सम्यानहरुको विकेट लगालग झरेपछि स्कटल्याण्ड अप्ठ्यारोमा परेको हो ।

सिंगापुरका लागि अमजद महबुब र सिद्धान्त सिंहले सामान दुई दुई तथा सेलाडोर विजयशंकरले तीन विकेट लिए । यसअघि यूएईमा टस हारेर पहिला ब्याटिङग गर्ने निम्ता पाएको सिंगापुरले २० ओभरमा छ विकेटको क्षतिमा १६८ रनको योगफल तयार गरे । छ रनमै पहिलो विकेट गुमाएर दबाबमा आएको सिंगापुरलाई सुब्रमण्यम चन्द्रमोहनले अद्र्धशतकीय पारी खेलेर ५१ रनको योगदान गरेपछि उच्च योगफल बनाउन सफल रह्यो ।

मध्यक्रममा अरिता दत्तले ३२ था मनप्रित सिंहले २६ रनको योगदान गरे । जितसँगै सिंगापुरले महत्वपूर्ण दुई अङ्क जोडेको छ ।

छनोट प्रतियोगिताको समूह ए मा यी दुई राष्ट्रसँगै नेदरल्याण्ड्स, पपुवान्युगिनि, नामिबिया, केन्या र बर्मुडा रहेका छन् । समूह बी मा यूएई, आयरल्याण्ड, ओमान, हङकङ, क्यानाडा, जर्सी र नाइजेरिया रहेका छन् ।