काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि बिहीबार साँझ क्यानको कार्यसम्पादन समितिले सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
क्यानले सन्दीपमाथि सत्यतथ्य अनुसन्धान गर्ने बाटो खुलाउन सन्दीपलाई निलम्बन गरेको हो । यसअघि हिजो क्यानले सन्दीपसँग कुराकानी समेत गरेको थियो । सन्दीपले आफू निर्दोष रहेको दाबी गर्दै आफूलाई कानुनी सहायता गर्न क्यानसँग आग्रह गरेका थिए ।
सन्दीपलाई आजै काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी समेत जारी गरेको छ । लामिछाने लिग क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेलका सिलसिलामा हाल मुलुक बाहिर छन् ।
उनीमाथि १७ वर्षीया नाबालिका अभिभावकले यही भदौ ६ गते जबर्जस्ती करणी गरेको आरोपसहित भदौ २१ गते मङ्गलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।
जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ ।
जाहेरीपछि प्रहरीले ती होटलको सिसीटिभी फुटेज हेर्नेसहित विभिन्न अनुसन्धान गरिरहेको छ ।
अपराध संहिताको दफा २१९, (२) मा कसैले कुनै महिलालाई महिलाको मञ्जुरी नलिइ करणी गरेमा वा मञ्जुरी लिए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ ।
सोही दफाको ३ (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।