भक्तपुर – नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं २ का एमालेको उम्मेदवार महेश बस्नेतले विगतमा नेपालमा सञ्चालनमा रहेको दर्जनौं उद्योगहरु बेच्नेले नै अहिले पुनः देशको अर्थतन्त्र ध्वस्त बनाउँदै गरेको आरोप लगाएका छन् ।
नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूले आयोजना गरेको मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले वर्तमान कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बनेसँगै अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको उल्लेख गरे ।
उनले भने, ‘देशको अर्थतन्त्र गिर्दो अवस्थामा रहेको छ । बैंक तथा वित्तिय संस्थाहरुले लोन दिनसक्ने अवस्था छैनन् । कार्तिकदेखि बैंकले व्याजदर समेत १८ प्रतिशतसम्म पुर्याउने अवस्था बनेको छ । हिजो उद्योग बेन्नेले नै अहिले देशको अर्थतन्त्र ध्वस्त बनाउँदैछन् ।’
२०५४ सालमा सूर्य उदाएको गुण्डू अब झलमल्ल हुने दावी गर्दै उनले गुण्डूमा एमालेले गरेको विकासले गर्दा विपक्षीले खासै गतिविधि गर्न नसकेको दावी गरे । कांग्रेसले जस्तो निषेधको राजनीति एमालेले नगर्ने उल्लेख गर्दै उनले एमालेले लोकतान्त्रिक विधि अवलम्बन गर्ने उल्लेख गरे ।
कांग्रेससँग हरेक ठाउँहरुमा दाँजिन तयार रहेको उल्लेख गर्दै उनले सामाजिक न्याय र समानताको लागि एमाले अग्रणी रहेको बताए । आगामी दिनमा आधुनिक नेपाल निर्माणको नेतृत्व एमालेले गर्ने उल्लेख गर्दै उनले अब भक्तपुरले सिंहदरवार जोड्न नभई नेतृत्व गर्ने दावी गरे ।
भक्तपुरमा एमाले ब्राण्डेड पार्टी रहेको उल्लेख गर्दै उनले भक्तपुरमा एमालेले गरेको विकासले गठबन्धनका दलहरुमा भाइव्रेसन आएको दावी गरे । उनले भने, ‘हामी जनतालाई कन्भिन्स गर्छौं तर विपक्षीहरु कन्फ्युज बनाउँछन् । एमालेले भक्तपुरमा गरेको विकासले गठबन्धनका दलहरुमा भाइव्रेसन गएको छ ।’
कार्यक्रममा एमाले प्रदेशसभा ‘क’का उम्मेदवार किरण थापाले भक्तपुरमा एमालेले गरेको विकास कामले नै तथ्य बोल्ने गरेको बताए । एमालेको नेतृत्वमा सुन्नलाई होइनन, प्रयोगमा नै ल्याउने गरी एमालेले विकास गरेको तथ्य राख्दै उनले भक्तपुरमा भ्रष्टाचार बढेको भनेर जनतालाई भ्रम पार्नेले तथ्य ल्याउने चेतावनी दिए ।
गठबन्धनको नेतृत्वमा बनेको १६ महिने सरकारले भक्तपुरमा एक दुई भनेर यो गरेको भनि तथ्य सार्वजनिक गर्न चेतावनी दिँदै उनले कांग्रेसले भोट माग्न आउने बाटो नै नभएको बताए । ०६४–७० मा कांग्रेसलाई भोट हालेर जनता पछुताइरहेको उदाहरण प्रस्तुत गर्दै उनले अबको निर्वाचनमा एमालेको विकल्प नभएको बताए ।
कार्यक्रममा प्रदेश सदस्य, शसी जंग थापा, राजेन्द्र राजधला, नगर अध्यक्ष रविन्द्र सापकोटा, नगर सदस्य दिनेश थापालगायतका गुण्डूको विकास र समृद्धिमा एमालेले खेलेको भूमिका र कांग्रेस नेतृत्वमा भएका वस्तुगत तथ्यहरु उल्लेख गरे ।
कार्यक्रममा जिल्ला सदस्य मनकराम थापाको अध्यक्षतामा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । त्यस्तै भेलाले प्रचार, आर्थिक, महिला, युवा, साईवर सर्कल, सामाजिक संघसंस्था समन्वय, विकास संयोजनलगायतका कमिटीहरु गठन गरेको छ ।