काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप छनोटको उद्घाटन खेलमा नेपालले आयोजक जिम्बाब्बेलाई २९१ रनको चुनौती दिएको छ ।
जिम्बाब्बेको हरारेस्थित हरारे स्पोर्टस् क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको हो । नेपाललाई उच्च स्कोरतर्फ डोर्याउने क्रममा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले शानदार ब्याटिङ गरे । उनीहरुले पहिलो विकेटका लागि १७१ रनको साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पुयाए ।
आक्रमक ब्याटिङ गरेका कुशल शतक बनाउनबाट १ रनले चुके । उनले ९५ बलमा १३ चौका र २ छक्काको मदतमा ९९ रन बनाए । यस्तै आशिफले १०० बलमा ७ चौकाको मदतमा ६६ रनको योगदान गरे । यस्तै कुशल मल्लले ४२ बलमा २ चौका र ३ छक्का ठोक्दै ४१ रन बनाएर आउट भए भने कप्तान रोहित पौडेलले २९ बलमा ५ चौका हान्दा ३१ रन बनाए ।
आरिफ शेख १० रनमा आउट हुँदा गुल्शन झाले १३ बलमा १ चौकाको मदतमा १३ रन बनाए । बलिङतर्फ रिचार्ड न्गार्भाले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभरमा ४३ रन दिए । यस्तै विलिङ्टन मासाकाट्जाले १० ओभरमा ४२ रन दिएर २ विकेट लिए । टेन्डाई चतारा र ब्लेसिङ मुजारबानीको नाममा १ विकेट रह्यो ।
१० राष्ट्र सम्मिलित विश्वकप छनोटमा नेपाल समूह ‘ए’मा रहेको छ । जहाँ नेपालले आयोजक जिम्बाब्बे, वेष्ट इण्डिज, नेदरल्याण्ड र अमेरिकासँग खेल्दैछ । यस्तै समूह ‘बी’मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई रहेका छन् ।
विश्वकप छनोटका शीर्ष दुई टोली यही वर्ष भारतमा हुने विश्वकपका लागि छनोट हुनेछन् । नेपालले सन् २०१९ देखि सुरु भएको ७ राष्ट्र सम्मिलित विश्वकप लिग–२ को शीर्ष ३ मा रहँदै विश्वकप छनोटमा स्थान बनाएको थियो । जहाँ नेपालले आफ्नो अन्तिम १२ मध्ये ११ खेल जितेर अविश्वसनीय प्रदर्शन गरेको थियो । विश्वकप छनोटमा पनि नेपालले त्यही प्रदर्शनलाई जारी राख्ने लक्ष्य राखेको छ ।