काठमाडौँ– काठमाडौँ महानगरपालिका हाताभित्र सोमबार (भोलि) देखि कुनै पनि हिन्दी फिल्म नचल्ने भएका छन् ।
हाल प्रदर्शनरत हिन्दी चलचित्र आदिपुरुषमा भएको विवादित संवाद नसच्याइएको भन्दै मेयर बालेन साहले भोलिदेखि हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउन लागेको हो ।यसका लागि बालेनले हलहरुमा नगर प्रहरी पठाउने तयारी थालेको बुझिएको छ ।
रामायणको कथामा आधारित फिल्म आदिपुरुषमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद राखिएको छ । उक्त संवाद राष्ट्रघातीतर्फ मोडिएको भन्दै मेयर साहले नेपालमा मात्रै नभइृ भारतमा समेत सो संवाद सच्याउनका लागि ३ दिनको समय दिएका थिए । यद्यपि नेपालमा सो संवाद हटाएर चलचित्र प्रदर्शन भएपनि हालसम्म भारतमा उक्त संवाद सच्याइएको कुनै जानकारी प्राप्त नभएका कारण महानगरले आफ्नो क्षेत्रभित्र हिन्दी चलचित्र नचलाउने निर्णय गरेको हो ।
यससम्बन्धमा छिमेकी मुलुक भारतसंग कुटनीतिक पहल चाल्न महानगरले सरकारलाई अपिल समेत गरेको थियो । तर, सरकारी स्तरबाट कुनै पहल नदेखेपछि महानगरले आफूसंग भएको नगर प्रहरी बल प्रयोग गरेर चलचित्र रोक्ने योजना बनाएको छ ।