काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।
भेटवार्तामा जलवायु परिवर्तनबारे गम्भीर रुपमा चर्चा भएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले जलवायु परिवर्तनका कारण नेपालमा देखिएको नकारात्मक परिणामलाई कम गर्न महासचिव गुटेरेसले खेलेको भूमिकाको समेत प्रशंसा गरेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय समुदाय र मुख्यतः महासचिवको हैसियतले उहाँले खेलेको हामीले उच्च प्रशंसा गर्यौं । आउने दिनमा समेत हामीले सहयोगको अपेक्षा गर्यौं’
साथै नेपालको शान्ति प्रक्रियाललाई टुंगोमा पुर्याउन तथा सामाजिक तथा आर्थिक विकासका लागि राष्ट्रसंघको सहयोग र सहजीकरणको अपेक्षा गरिएको उनले बताए । भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, मुख्यसचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी थिए । प्रधानमन्त्री दाहालसँग भेट्नुअघि उनले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका छन् ।
नेपालको चार दिने भ्रमणका लागि शनिबार राती काठमाडौँ आइपुगेका महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । त्यस्तै, उनी आज ललितपुरस्थित पाटन दरबार क्षेत्र भ्रमणका लागि जाने जनाइएको छ ।