काठमाडौँ– राजीनामा दिने तयारीका साथ प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् ।


ADVERTISEMENT


एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग नयाँ सत्ता समिकरण बनाउने सहमति गरेपछि सरकार अल्पमतमा परेकाले राजीनामा दिने तयारीका साथ पार्टी सभापति रवि लामिछानेसहित बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल पछि राजीनामा नदिई फर्किएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री प्रचण्डले संसदको सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि त्यसलाई आफुहरुले सकरात्मक रुपमा लिदैँ राजीनामा नदिने भएको प्रमुख सचेतक परियारले बताए ।

अहिलेको नयाँ गठबन्धन विश्वास गर्न लायक नभएकाले आफूहरु नयाँ गठबन्धनमा नजाने भनिसकेकाले प्रधानमन्त्रीको आग्रहलाई सम्मान गर्दै चाँडो संसदको प्रक्रियामा जान सुझाव दिएको पनि नले जानकारी दिए । परिस्थिति हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने निर्णय लिने उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् । एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिदै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाई सकेका छन् ।