काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल निलम्बनमा परेका छन् ।
पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै रास्वपाले उनलाई एक हप्ताका लागि निलम्बन गरेको हो ।
पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सहप्रवक्ता मनीष झालगायत महामन्त्री ढकाललाई कारबाही गर्न एकमत भएपछि ढकाल कारबाहीमा परेका हुन् ।
महामन्त्रीको पदबाट एक हप्ताका लागि ढकाललाई निलम्बन गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । त्यसपछि के गर्ने भन्ने विषयमा अनुशासन आयोगले प्रतिवेदनसहित दिने सिफारिसका आधारमा थप निर्णय लिने केन्द्रीय समितिले तय गरेको छ ।
सरकारबाट बाहिरिने निर्णय गरेको संसद्को चौथो ठूलो दल रास्वपा आन्तरिक विवादमा मुछिएको हो । बिहिवार महामन्त्री ढकालले बैठक लाइभ नगरेको भन्दै विरोधस्वरुप मुखमा कालो टेप लगाएर पार्टीको केन्द्रिय समितिको बैठकमा सहभागी भएका थिए ।
बैठकमा उनले तयार पारेको लिखित प्रतिवेदन पेशको समय दिने भनिए पनि उनलाई पार्टीका सभापति रवि लामिछानेले सो कार्यबाट रोकेका थिए । आफ्नो प्रतिवेदन पेश गर्न नदिएपछि ढकालले मिडियामार्फत नै त्यसलाई सार्वजनिक गरेका थिए ।
बैठक चलिरहेको समयमै निस्किएर पार्टीका सहप्रवक्ता मनिष झाले महामन्त्रीको प्रतिवेदन हुबहु सार्वजनिक गरिने बताएपनि पार्टीले ढकाललाई भने बुधवार मध्यरातसम्म बसेको केन्द्रीय समिति बैठकले निलम्बन गरेको हो ।



























































