काठमाडौँ – साफ यू-२० च्याम्पियनसिपको फाइनल खेलमा बुधबार नेपाल र बंगलादेश भिड्दैछन् ।
फाइनल खेल सातदोबाटो स्थित एन्फा कप्लेक्समा दिउसो साढे दुई बजे सुरु हुनेछ । नेपाल र बंगलादेश दुवै टोली पहिलो पटक साफ यू-२० च्याम्पियनसिपको उपाधि हात पार्ने रणनीतिका साथ मैदान उत्रने तयारीमा छन् ।
फाइनल अघि मंगलबार एन्फा कप्लेक्समा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली यू–२० राष्ट्रिय टोलीका कप्तान कुशल देउवाले फाइनलको तयारी निकै राम्रो भइरहको बताए । उनले बंगलादेशसंग समूहचरणमा निकै राम्रो खेल खेलेको भन्दै फाइनलमा पनि बलियो रणनीतिका साथ मैदान उत्रने धारणा राखे ।
त्यस्तै नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यसअघिका सबै खेलका साथै अभ्यासपनि एन्फा कप्लेक्समा भएका कारण फाइनल सोही मैदानमा खेल्न थप सहज हुने बताए । फाइनलको दबाब झेल्न नेपाली टीम तयार रहेको उनको भनाइ छ ।
त्यस्तै बंगलादेशका कप्तान र प्रशिक्षकले पनि फाइनलका लागि पूर्ण रुपमा तयार रहेको बताएका छन् । सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । समूह चरणमा दुवै टोली समूह ए मा रहेका थिए ।



























































