काठमाडौं- महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपाली लाई शहीद घोषणा गर्नुपर्ने माग सार्वजनिक रूपमा उठ्न थालेको छ। जेनजी अभियन्ता मिराज ढुङ्गानाले फेसबुकमार्फत ६ बुँदे धारणा सार्वजनिक गर्दै गणेश नेपालीको घटनालाई राज्यप्रतिको गम्भीर प्रतिरोधको रूपमा व्याख्या गरेका छन्।


ADVERTISEMENT


ढुङ्गानाले आफ्नो धारणामा गणेश नेपालीको घटनालाई सामान्य आत्महत्याको रूपमा मात्र नहेर्न आग्रह गर्दै यसलाई राज्यको नीति, प्रशासनिक व्यवहार र नागरिकप्रतिको संवेदनशीलताको प्रश्नसँग जोडेर हेर्नुपर्ने बताएका छन्। उनका अनुसार सार्वजनिक रूपमा शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्नु व्यक्तिगत निराशाको मात्र परिणाम नभई राज्य संयन्त्रप्रतिको असन्तुष्टि र प्रतिरोधको अभिव्यक्ति हो।


ADVERTISEMENT

# # #


उनले गणेश नेपालीलाई शहीद घोषणा गर्न, घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न, दोषीमाथि कानुनी कारबाही अघि बढाउन तथा पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्यायको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्। साथै, भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन राज्यले नागरिकका गुनासा समयमै सुन्ने र समाधान गर्ने संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने धारणा पनि राखेका छन्।

यस घटनापछि सामाजिक सञ्जालमा गणेश नेपालीको पक्षमा ऐक्यबद्धता जनाउने अभियानसमेत बढिरहेको छ। विभिन्न व्यक्तिहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, जिम्मेवार निकायलाई जवाफदेही बनाउन तथा राज्यले नागरिकको आवाजप्रति संवेदनशील हुनुपर्ने धारणा व्यक्त गरिरहेका छन्।

यद्यपि, गणेश नेपालीलाई शहीद घोषणा गर्ने सम्बन्धमा नेपाल सरकारबाट हालसम्म कुनै औपचारिक निर्णय वा घोषणा सार्वजनिक भएको छैन। त्यसैले उक्त माग विभिन्न व्यक्ति तथा समूहबाट उठिरहेको सार्वजनिक धारणाका रूपमा रहेको छ।