काठमाडौँ – गैरआवासीय नेपाली संघले कार्तिक ११ र १२ गते काठमाडौंमा एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ आयोजना गर्ने भएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ भन्ने नाराका साथ काठमाडौंमा एनआरएन ग्लोबल कन्क्लेभ आयोजना गर्न लागेको जानकारी दिएको हो ।


ADVERTISEMENT


कन्क्लेभमा ७ वटा प्लेनरी सत्र रहने र स्वदेश तथा विदेशका पाँच सय भन्दा बढी व्यक्तिहरुको सहभागिता रहने संघले जनाएको छ । कन्क्लेभको पहिलो दिन नेपालमा आर्थिक रुपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव लगाएतका विषयमा छलफल हुने अध्यक्ष बद्री केसीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै दोश्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा लगाएतमा संघको भूमिका लगायतका विषयमा छलफल हुने छ । संघका अध्यक्ष केसीले जलवायु परिवर्तनले देखिएको विनासका कारणका बारेमा छुट्टै सेसनमा छलफल हुने जानकारी दिए ।

उनले नेपालमा जुनसुकै विपद् पर्दा संघले साथ र सहयोग गरेको भन्दै हालैको बाढीपहिरोपछि पनि ४४ भन्दा बढी जिल्लामा ९५ लाख बराबरको राहत बाँडेको बताए । संघमा लोकतान्त्रीक मूल्यमान्यता अनुसार भएको निर्वाचनको परिणाम चित्त नबुझाएर सडकबाटै आफूलाई अध्यक्ष घोषणा गरेको देखिएको भन्दै अध्यक्ष केसीले बैधानिक निकासका लागि संघ तयार रहेको जिकिर गरे ।

उनले संस्था सञ्चालन गर्ने विधानमा समस्या देखिए आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको धारणा राखे । उनले एक वर्षअघिसम्म १ खर्बभन्दा बढी गैर आवासीय नेपालीको लगानी नेपालमा रहेको र अहिले लगानीको थप वातावरण हुँदै गएकाले थप लगानी बढ्ने उल्लेख गरे ।

त्यस्तै ग्लोबल कन्क्लेभका क्रममा १० अर्बको एनआरएन डेभलप्मेन्ट फन्डको सञ्चालनका लागि भइरहेको तयारीबारे सरकारका प्रतिनिधिसंग पनि छलफल हुने आयोजकले जनाएको छ ।