काठमाडौँ– आज नेपाल–बंगलादेशबीच साफ महिला च्याम्पियनसिप फुटबल–२०२४ को फाइनल खेल हुँदैछ ।
दशरथ रंगशालामा साँझ साढे ६ बजे हुने खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने भएका छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्नेछन् ।
नेपालले भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।
नेपाल र बंगलादेश दुवै यस संस्करणमा अपराजित छन् र उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने दुवै टिमको दाबी छ । यसअघि नेपाल–बंगलादेश २५ महिना अगाडि दशरथ रंगशालामै साफ च्याम्पियनसिपको फाइनल भिडेका थिए ।
त्यो फाइनलअघिका ३ वटै खेलमा जितेको र फिफा वरीयतामा पनि अगाडि रहेकाले नेपालले जित्ने धेरैको अनुमान थियो । तर, भारतबाहेकको पहिलो साफ महिला च्याम्पियनसिपको ताज बंगलादेशले पहिरियो ।
तर, यसपटक भने सेमिफाइनलमा भारतसँगको तनावपूर्ण खेलमा अन्तिम ३५ मिनेटमा टिम एकताका साथ खेल्दा आफ्नो पक्षमा जित पार्न सफल भएको स्मरण गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन् ।


























































