काठमाडौँ– ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल परियोजना लागत नेरु ४.०१३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको स्याङ्जाको गल्याङ नगरपालिकास्थित गल्याङ नगर अस्पतालको अस्पताल भवनको आज जिल्ला समन्वय समिति, स्याङ्जाका प्रमुख प्रसाद जि.टी, गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराई र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरे।


ADVERTISEMENT


उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, अस्पताल व्यवस्थापनका प्रतिनिधि, चिकित्सक, मेडिकल स्टाफ सदस्य तथा गल्याङ नगर अस्पतालका अधिकारीको पनि उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग गल्याङ नगर अस्पताललाई आवश्यक अन्य सुविधा, चिकित्सकीय उपकरणको व्यवस्थासँगै अस्पताल भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, स्याङ्जामार्फत यो परियोजनाको कार्यान्वयन गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख, गल्याङ नगरपालिकाका नगर प्रमुख, राजनीतिक प्रतिनिधि र अस्पताल व्यवस्थापनका प्रतिनिधिहरुले आ–आफ्नो मन्तव्यमा प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्ने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा स्थानीय जनताले एउटा सानो भाडाको घरमा सन् २०१० मा गल्याङ सामुदायिक अस्पतालको स्थापना गरेका थिए । गल्याङ नगरपालिकाको आर्थिक सहयोग रहेको उक्त अस्पतालको नाम परिवर्तन गरी अहिले गल्याङ नगर अस्पताल राखिएको छ । अस्पतालले स्याङ्जा, पाल्पा, पर्वत र गुल्मी जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

यस अस्पतालका लागि निर्माण गरिएको नवनिर्मित संरचना नेपालका जनतालाई गुणस्तरीय पूर्वाधार र स्वास्थ्य सेवामा गुणस्तरीय वातावरण उपलब्ध गराउन उपयोगी हुनेछ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।