काठमाडौँ– राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् ।
आइतबारमात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले आज राजीनामा दिएका हुन् । मन्त्रिपरिषद् बैठकले राजीनामा स्वीकृत गर्न सक्ने बुझिएको छ ।
भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी सेवामा पुनः फर्केका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत कात्तिक २० मा योजना आयोगमा रमाना पठाएको थियो ।
डा. अर्यालमाथि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार मुद्दा दर्ता भएको भोलिपल्टै १० असारमा मन्त्रिपरिषद्ले उनलाई योजना आयोगमा सरुवा गर्ने निर्णय गर्दै विशिष्ट श्रेणीको पद सिर्जना गरेको थियो। तर, यो पदमा कुनै स्पष्ट कार्यक्षेत्र भने तोकिएको थिएन ।



























































