काठमाडौँ– मंगलबार निवासबाटै पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘फेक डकुमेन्ट’ बनाएर दुष्प्रचार गरेको आरोप छ ।


ADVERTISEMENT


यससंगै साइबर अपराध मुद्दामा पक्राउ परेका उनीविरुद्व कागजात कीर्ते र मानहानी मुद्दासमेत चल्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रमुख एआइजी दीपक थापाका अनुसार तत्काल साइबर अपराधसम्बन्धी मुद्दामा म्याद थप गरिए पनि अनुसन्धानका क्रममा उनले गरेका अन्य कसुरसमेत आकर्षित हुने छ ।


ADVERTISEMENT

# # #


उनका अनुसार प्रहरी प्रतिवेदनका आधार मुद्दा चलाइन लागेको प्रसाईँविरुद्व एउटा मुद्दाको अनुसन्धानपछि अर्को मुद्दा चलाइनेछ । ‘एक व्यक्तिलाई एकैपटक एकभन्दा बढी मुद्दा चलाउने कानुनी सुविधा नभएका कारण एउटा मुद्दाको अनुसन्धानपछि अर्को मुद्दा चलाउनुपर्ने हुन्छ’, थापाले भने, ‘कीर्ते र मानहानीको कुरा पनि आएको छ, त्यसमा पनि मुद्दा चल्छ ।’

प्रसाईँले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले कम्बोडियाको एजियाटा कम्पनीमा लगानी गरेको प्रमाण मिलेको दाबी गरेका थिए । जसमा प्रधानमन्त्रीको किर्ते हस्ताक्षरसमेत संलग्न गरिएको थियो ।

प्रधानमन्त्रीले कम्बोडियामा नेपाली ३२ अर्बभन्दा माथिको लगानी गरेको जनाउदैँ उनले लेखेका छन्, ‘ल हेर्नुहोस केपी ओलीको कम्बोडियाको लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र । म मर्न तयार छु यस्ता तस्कर संग झुक्न तयार छैन ।’ साथै यस्ता प्रमाणहरु अन्य दलका नेताहरुका पनि आइरहने बताउदैँ उनले जनतालाई साथ मागेका थिए ।

प्रधानमन्त्रीका आधिकारिक दस्तावेजहरू हेर्दा उक्त भिडिओ रिपोर्टमा देखाइएका कागजात कीर्ते भएको ठहर्ने उनको सो अफवाहजन्य भिडिओ हालसम्म २ हजार सात सयभन्दा बढीले सेयर गरिसकेका छन् ।

प्रसाईलाई सीआईबीमा ल्याइएलगत्तै जिल्ला अदालतमा म्याद थपका लागि पठाइने बताउदैँ सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले भिडियो प्रकरणमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको बताए ।