काठमाडोँ– भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । मंगलबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै प्रसाईँले प्रधानमन्त्री ओलीले कम्बोडियाको एजियाटा कम्पनीमा लगानी गरेको प्रमाण मिलेको दाबी गरेका थिए ।
प्रधानमन्त्रीले कम्बोडियामा नेपाली ३२ अर्बभन्दा माथिको लगानी गरेको जनाउदैँ उनले लेखेका छन्, ‘ल हेर्नुहोस केपी ओलीको कम्बोडियाको लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र । म मर्न तयार छु यस्ता तस्कर संग झुक्न तयार छैन ।’ साथै यस्ता प्रमाणहरु अन्य दलका नेताहरुका पनि आइरहने बताउदैँ उनले जनतालाई साथ मागेका थिए ।
प्रसाईविरुद्व सीआईबी मातहतकै साइबर क्राइम ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने जनाएको छ । उनलाई सीआईबीमा ल्याइएलगत्तै जिल्ला अदालतमा म्याद थपका लागि पठाइने बताउदैँ सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले भिडियो प्रकरणमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको बताए ।
‘यस्तो वारदातमा जो–जो संलग्न छन्, हामी सबैलाई ल्याएर कानुनी कारबाही गर्नेछौं’, उनले भने ।



























































