भक्तपुर– भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएको छ ।
नयाँ भवन निर्माणको सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले शिलान्यास गरे ।
सो क्रममा सिंहले स्वास्थ्य सेवा विस्तार गर्नका लागि निर्माण हुन लागेको नयाँ भवनमा समयमा नै सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाले रोग लागिसकेपछि थप मानसिक पीडा समेत हुने भएकाले रोग लाग्नुअघि नै सजक हुनुपर्ने धारणा राखे ।
सिंहले अस्पतालमा सञ्चालन हुने सेवाको माध्यमबाट नेपाल र कोरियाबीचको सम्बन्धलाई अझ अगाडि बढाउने र नागरिकले पनि सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गरे ।
त्यस्तै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउन नयाँ भवन निर्माण गर्न लागेको जानकारी दिए ।
उनले वार्षिक रुपमा १ लाखलाई सेवा प्रदान गर्दै आएकोमा गतवर्ष करिब दुई लाखलाई उपचार सेवा उपलव्ध गराएको सुनाए । यस्तै अन्य विभिन्न अस्पतालसंग पनि सहकार्य गर्दै सेवा प्रभाव हुदै आएको उनले जनाए ।
दक्षिण कोरियाको १ अर्व २८ करोडको सहयोगमा सुविधासम्पन्न नयाँ भवन निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ । भवन दुई वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।



























































