काठमाडौँ– कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) सँगको साझेदारीमा अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुका लागि नेपाल पे क्यूआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको हो ।


ADVERTISEMENT


यो सेवाअन्तर्गत अलिपे प्लस प्रयोगकर्ताले कुमारी बैंकको नेपाल पे क्यूआर रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्ने बताइएको छ । अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने बैंकको विश्वास छ । यस सम्झौतासँगै, नेपालमा उपलब्ध नेपाल पे क्यूआर र यसको इन्टरपोलेबल क्यूआरलाई अलिपे प्लस नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेशिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुर लगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ भने, नेपाल पे क्यूआर मार्फत व्यवसायीहरूले १४ अन्तर्राष्ट्रिय ई–वलेट र मोबाइल बैंकिङ एप्स जस्तै अलिपे, अलिपे एचके, टिनाबा, एमपे, टच एण्ड गो वालेट, माईपीबी, हाईपे, जीक्यास, चेन्जी पे, ओसीबीसी डिजिटल, काकाओपे, नाभर पे, टस पे र ट्रयुमनी बाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

साथै, बैंकले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउने र आधुनिक बैंकिङ्गको अनुभव प्रदान गर्ने उद्देश्यले यस किसिमका नवीन पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।