जुम्ला- जुम्लाको तिला गाउँपालिका–५ ले वडामा मदिरा बिक्रीवितरण गर्ने तथा सेवन गर्नेलाई कारबाही गर्ने भएको छ। वडाभरिमा मदिरा बिक्रीवितरण बढ्दै गएको जनगुनासो आएपछि मङ्गलबार बसेको वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको संयुक्त बैठकले बिक्रीवितरण तथा सेवनमा रोक लगाएको हो।
वडाभरिमा मदिरा बिक्रीवितरण गर्ने र खानेलाई कानुनअनुसार जारिवाना तिराउने निर्णय गरिएको वडाध्यक्ष ललित शाहीले बताए। उनले भने, “वडाको निर्णय अटेर गर्नेलाई कानुनबमोजिम सजाय हुनेछ।” वडामा मदिराका कारण विभिन्न किसिमका घटना तथा घरेलु हिंसा बढेको गुनासो आउन थालेपछि उक्त निर्णय गरिएको उनको भनाइ छ।
विसं २०७९ असार ३१ गते बसेको वडासभाको बैठकले मदिरा तथा जुवातासमुक्त विधेयक पारित गरेको थियो। वडाध्यक्ष शाहीले भने, “मदिरा सेवन र बिक्री गर्नेदेखि जुवातास खेल्ने र खेलाउनेलाई सचेत लगाउनका लागि अहिले गाउँबस्तीमा सूचना जारी भइसकेको छ।”
वडा समिति तथा सम्पूर्ण सरोकार भएका निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, समाजसेवी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, बाल क्लब, युवा क्लब, आमा समूहको संयुक्त बैठकबाट उक्त निर्णाय भएको वडाध्यक्ष शाहीले बताए।
वडालाई बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक पर्ने ५१ सूचक पूरा गरी अगामी चैतभित्र बालविवाहमुक्त वडा घोषणा गर्नेगरी वडा कार्यालयले कार्य गरिरहेको छ।
आगामी २०८२ को असारभित्र बालमैत्री स्थानीय शासन वडा घोषणासमेत गर्ने गरी काम अघि बढाइएको वडाध्यक्ष शाहीले जानकारी दिए। पछिल्लो समय जिल्लामा प्रहरी, प्रशासन तथा स्थानीय तहले आ–आफ्ना क्षेत्र र वडामा मदिरा नियन्त्रण अभियान सञ्चालन गरिरहेका छन्। वडामा मदिरा न्यूनीकरण समिति गठन गरी अभियान सञ्चालन भइरहेका जनाइएको छ।