काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउने भएपछि त्रिभुवन विमानस्थलबाहिर राजसंस्थाको पक्षमा सडकमा प्रदर्शन सुरु भएको छ ।
बाक्लो संख्यामा उपस्थित भएका प्रदर्शनकारीले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध नारावाजी गरिररहेका छन् ।
समर्थकहरुको भिड बढ्दै जान थालेपछि सुरक्षाकर्मीहरुको तैनाथी पनि बढाइएको छ । विमानस्थलको मुख्य गेट अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ ।
राजावादीहरु राष्ट्रिय झण्डा र पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो अंकित ब्यानरसहित भेला भएका छन् ।
पूर्वराजा शाह पोखराको एक हप्ता बसाइँपछि आज हवाईमार्ग हुँदै काठमाडौं आउँदैछन् । उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल र ज्ञानेन्द्र शाह समर्थित विभिन्न संघसंस्थाहरु विमानस्थलको गेटसम्म पुगेका हुन् ।