काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले ठूला दुई दलका साथै अन्य केही दल मिलेर बनेको वर्तमान सरकार नै राष्ट्रिय सहमतिको आधारमा बनेको सरकार भएकाले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका हुन् ।
‘अहिले सरकारले देश र जनतालाई ध्यानमा राखेर काम गरिरहेको छ । विशेष गरी नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा जुन ७ बुँदे समझदारी भयो, त्यसैको जगबाट नै सरकारले आफूलाई प्रस्तुत गरिरहेको छ ।’ उनले भने, ‘अहिले हामी बजेट र आवश्यक कानुन निर्माणमा केन्द्रित भएका छौँ । यस हिसाबले अहिलेको सरकार नै राष्ट्रिय सरकार हो । यसले यही रुपले काम गरिहेको छ ।’
उनले सरकार परिवर्तन वा कुनै दललाई सरकारमा भित्राउने वा बाहिर पठाउने भन्ने विषयमा समेत कुनै बैठक नभएको धारणा राखे । सरकारमा आउन रुची भएकाहरुले सरकार परिवर्तनको हल्ला चलाएको उनको भनाइ छ ।
उनले अहिलेको सरकार सहझ ढंगले अघि बढिरहेको र यही सरकारले निरन्तरता पाउने जिकिर गरे । उनले अहिले कांग्रेस र एमालेको संयुक्त सरकार भएपनि ८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने गरि तयारी गर्ने बताए ।