काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामदका घटनामा बिशेष छानविन गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसद सापकोटाले अहिलेसम्मकै सबैभन्दा ठुलो अवैध रकम बरामद भएको घटनाले सिंगो देश तरंगित भएको भन्दै विशेष प्रकारको छानबिन समिति गठन गरेर अनुसन्धान गर्न माग गरेका हुन् ।
यस्ता प्रकृतिका घटनामा ड्राइभर र भरियामात्र पक्राउ गर्ने र मुद्दा नै हराएर जाने देखिएको भन्दै विशेष प्रकारको छानविन समिति गठन गर्नुपर्ने उनले बताए । उनले ठूलो मात्राको तस्करीको घटना उपल्लो तहको कनेक्सन नभइ सम्भव नरहेको जिकिर गरे ।
त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले पनि २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामद प्रकरणमा मुख्य दोषिसम्म पुग्ने गरि अनुसन्धान गर्न माग गरे । उनले विभिन्न प्रकरणमा ड्राइभर र भरिया पक्रने र मालिकसम्म नपुग्ने प्रवृति देखिएको भन्दै मुख्य नाइकसम्म पुगेर कारवाही गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै सांसद रोशन कार्कीले टोखामा ठूलो मात्रामा अवैध विदेशी मुद्रा बरामद भएको भन्दै नेपाल तस्करहरुको ट्रान्जीट प्वाइन्ट बनेको हो भन्दै प्रश्न गरे । भ्रष्टाचारमा नेपालले नयाँ नयाँ किर्तिमान कायम गरेको उनले बताए । उनले जनताको सहनशिलतामा धरै परिक्षा लिइराखे सरकारलाई अप्ठेरो पर्ने चेतावनी दिए ।
मंगलबार प्रहरीले काठमाडौंको टोखाबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित एक व्यक्तिलाई पक्राउ गरेको थियो ।