काठमाडौँ– विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ ।
सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै महासंघले बुधबार पनि काठमाडौंको माइतिघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् । सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हड्ताल गर्दै शिक्षकहरु आन्दोलनरत छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरुलाई वार्ताको लागि दोस्रो पटक आह्वान गरेपनि महासंघले वार्ता अस्वीकार गरेको छ । आफूहरु अहिले कुनै नयाँ माग र मुद्दा लिएर आन्दोलनमा नआएको बताउँदै वार्तामा बस्नुको कुनै औचित्य नरहेको महासंघको भनाइ छ ।
महासंघले संसदको वर्षे अधिवेशन तत्कालै शुरु गर्ने, विशेष अधिवेसन आह्वान गर्ने वा अध्याधेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।