काठमाडौँ – नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले लोकतन्त्रबाट नागरिक बनेकाहरू फेरि राजतन्त्रमा फर्किएर राजाकै रैती र हली बन्ने चाहना राखिरहेको बताएका छन्।
कांग्रेस काठमाडौं क्षेत्र नं–४ (ख) को दोस्रो प्रदेश सम्मेलन तथा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रममा सम्बोधन गर्दै सभापति बानियाँले भने, ‘हिजो हामी प्रजा थियौं, आज नागरिक भएका छौं । तर, हामीले नागरिक बनाएका केही समूह फेरि हली र रैती बन्न खोजिरहेका छन्, जुन दुर्भाग्यपूर्ण सोच हो ।’
सभापति बानियाँले राजसंस्थाको नाममा राजनीति गर्नेहरूप्रति समेत तीखो आलोचना गरेका छन् । ‘राजाको गोठाला र हली बन्नेहरूले अहिले पार्टी खोलेका छन्, राजसंस्थाको गुणगान गाइरहेका छन् । तर, तिनिहरूले जनताको हकमा राजसंस्थाले के गर्यो भनेर उत्तर दिन सक्दैनन्’ सभापति बानियाँको चेतावनी छ ‘२४० वर्षे राजतन्त्रको अवशेषलाई देखाएर मालिक बनेका जनतालाई फेरि रैति बनाउने राजनीति बन्द गर्नुहोस् ।’
राजतन्त्रका नाममा देशमा खुलेआम लुटतन्त्र मच्चाईएको बानियाँले सम्झाएका छन् । ‘लोकतन्त्रको व्यवस्थापनमा वार्षिक ११ करोड मात्र खर्चिईन्छ, तर, सक्रिय राजतन्त्रमा ७५ करोड खर्च हुन्थ्यो । अझै त्यो खर्चको पारदर्शिता समेत थिएन, त्यसको जवाफ कसले दिने ?’ उनले प्रश्न गरे ।
गणतन्त्रभित्र देखिएको कमजोरीहरूलाई सुधार गर्न सकिने र जनताले नेताहरूलाई आवश्यक दण्ड दिन सकिने सुन्दर व्यवस्था लोकतन्त्रमा रहेको उनले बताएका छन् । ‘गणतन्त्रमा जनतासँग दण्ड दिने अधिकार छ, तर राजतन्त्रमा यस्तो उत्तरदायित्व हुँदैन, त्यसैले गणतन्त्र जनमुखी छ’, उनले भने ।
सभापति बानियाँले गणतन्त्रको उपलब्धिका रूपमा समावेशितालाई उदाहरण दिँदै भने, ‘आज हरेक वडामा सबै जातजातीका कर्मचारीहरू छन् । समावेशीता व्यवहारमै देखिएको छ। यो नै लोकतन्त्रको विशेषता हो।’
अन्त्यमा, नेपाली कांग्रेसको भावी योजनाबारे पनि स्पष्ट पार्दै सभापति बानियाँले भने, ‘अबको एजेन्डा मुलुकमा सुशासन स्थापना गर्नु, भ्रष्टाचार अन्त्य गर्नु र जनताप्रति पारदर्शी तथा जवाफदेही नेतृत्व दिनु हो । जनतालाई नै सार्वभौम बनाउँदै लोकतान्त्रिक गणतन्त्रबाटै देश र जनताको सुख र समृद्दिका लागि कांग्रेसको अर्जुनदृष्टि रहिरहनेछ ।