काठमाडौँ — भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै दुवै दलका सांसदहरू उठेर विरोध जनाएका थिए। तर सभामुखले बैठकको कार्यसूची अघि बढाएपछि उनीहरूले बैठक बहिष्कार गर्दै सदनबाट बाहिरिएका हुन्।
सांसदहरूको बहिष्कारका बीच बैठक अहिले पनि जारी छ। बैठकमा विभिन्न मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि छलफल भइरहेको छ। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ तथा स्पष्टीकरण दिने कार्यसूची तय गरिएको छ।
रास्वपा र राप्रपाले गृहमन्त्री लेखकको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै पछिल्ला केही बैठकहरू अवरुद्ध गर्दै आएका छन्।