हेटौंडा– – बागमती प्रदेशको राजनीति अहिले सनसनीपूर्ण मोडमा पुगेको छ। प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामामाथि आफ्नै पार्टीकी सांसद माया श्रेष्ठलाई अपहरण गरेर मुख्यमन्त्री क्वार्टरमा थुनेर मन्त्री र पैसाको प्रलोभन दिएको गम्भीर आरोप सार्वजनिक भएको छ।
गोप्य स्रोतले हिमालय पोष्टलाई जानकारी दिएअनुसार, कांग्रेस सांसद श्रेष्ठलाई रातको १२ बजे नियन्त्रणमा लिएर मुख्यमन्त्री निवास (क्वार्टर) मा राखिएको हो। चार दिनसम्म उनी सम्पर्कविहीन रहँदा पार्टी, परिवार र प्रशासन अत्तोपत्तो विहीन बनेका थिए।
अविश्वास प्रस्तावपछि हराइन्, लामा सँगै भेटिइन् हेटौंडामा
श्रेष्ठ कांग्रेस पार्टीकी तीनै सांसद हुन्, जसले मुख्यमन्त्री लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी थिइन्। प्रस्तावमा हस्ताक्षर गरेकै भोलिपल्टदेखि उनी एकाएक सम्पर्कविहीन भएकी थिइन्।
घटना तब उजागर भयो जब उनको खोजी भइरहेका बेला श्रेष्ठ लामासंगै हेटौंडामा देखिइन् । त्यसपश्चात् लामाले श्रेष्ठलाई मन्त्री क्वार्टरमा राखेर मन्त्री पद र ठूलो रकमको प्रस्ताव दिँदै प्रलोभनमा पार्ने कसरत गरिरहेको जानकारी समेत लिक भएको छ ।
गोप्य स्रोतको दाबी अनुसार, लामा पक्षले श्रेष्ठलाई मन्त्री बनाइदिने, ठूलो रकम दिने र राजनीतिक भविष्य सुनिश्चित गरिदिने भनेर निरन्तर दबाब दिइरहेका थिए। उनीमाथि चार दिनसम्म मानसिक दबाब र लालच दिँदै अविश्वास प्रस्तावबाट पछि हट्न बाध्य पार्ने प्रयास गरिएको हो।
यस घटनाले राजनीतिक तरंग उत्पन्न गराएको छ। घटनाबारे थप अनुसन्धान प्रक्रिया जारी रहेको बताइएको छ ।































































