हेटौंडा–बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्र बहादुर बानियाले दाबी पेश गरेका छन् ।
नेपाली काँग्रेस र नेकपा एमाले संसदीय दलको समर्थनमा काँग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बानियाले सोमबार मुख्यमन्त्री पदमा दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख समक्ष पेश गरिएको दावीमा ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको उल्लेख गरिएको छ ।
यसअघि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम सोमबार प्रदेश प्रमुख कार्यालयमा लिखित राजीनामा बुझाउनु भएपछि प्रदेश प्रमुख कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न दाबी पेश गर्न आह्वान गरेको थियो ।
मुख्यमन्त्री पदमा दाबी पेश भएसंगै मंगलबार मुख्यमन्त्री नियुक्त गरेर मंगलबार नै अपरान्ह ४ बजेपछि शपथ ग्रहण गराउने प्रदेश प्रमुख कार्यालयको तयारी छ ।
































































